Main News

आज देशका सातवटै प्रदेशले बजेट सार्वजनिक गर्दै

हिमालय टिभी
२०७८ असार १ गते ७:५४
आज देशका सातवटै प्रदेशले बजेट सार्वजनिक गर्दै

१ असार २०७८ काठमाडौं । सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८–८९ को बजेट ल्याउँदै छन् ।

नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने प्रावधान छ ।

सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले बजेटको प्राथमिकता पनि त्यहीअनुसार हुनेछ ।

केन्द्रले प्रदेशलाई समानीकरणमा ५७ अर्ब ९५ करोड ४८ लाख, ससर्तमा ३५ अर्ब ८७ करोड ३१ लाख, विशेषमा चार अर्ब १५ करोड, समपूरकमा पाँच अर्ब ७२ करोड ४६ लाख गरी जम्मा एक खर्ब तीन अर्ब ७० करोड २५ लाख रकम छुट्याएको छ ।

यसका अतिरिक्त राजस्व बाँडफाँट र रोयल्टी बाडँफाँटबाट पनि प्रदेशलाई रकम जाने व्यवस्था गरिएको छ । यसैगरी प्रदेशको आफ्नै स्रोतबाट पनि राजस्व परिचालन हुन्छ ।

प्रदेश १ मा दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । चालू आर्थिक वर्षको बजेटको तुलनामा सानो आकारको बजेट आउने बताइएको छ ।

प्रदेश २ को बैठक दिउँसो ४ बजे बोलाइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुनेछ । मन्त्री यादवले बजेटमा कोरोना महामारी नियन्त्रणसहित स्वास्थ्य र भौतिक पूर्वाधारलाई उच्च प्राथमिकता दिइएको बताउनु भएको छ ।

बागमती प्रदेश सरकारको बजेटमा कोरोना नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ भने विद्युतीय बस सञ्चालन, कुलेखानी सुरुङमार्ग निर्माणलगायतका कार्यक्रम समावेश गरिएको जनाइएको छ । बैठक दिउँसो ३ बजे बस्दैछ ।

गण्डकी प्रदेशमा भर्खरै सरकार परिवर्तन भएका कारण नीति तथा कार्यक्रम पारित गर्न र बजेट निर्माणमा समय कम भए पनि आजै बजेट आउनेछ । सरकार परिवर्तनका कारण आगामी आर्थिक वर्षको बजेटमा धेरै नयाँ कुरा आउने छैनन् ।

लुम्बनी प्रदेशमा दिउँसो ४ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले बजेट प्रस्तुत गरनुहुनेछ । यो बजेटमा उद्योग, पर्यटन, कृषि क्षेत्रलाई प्राथमिकता दिइएको बताइएको छ ।

कर्णाली प्रदेशमा दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट प्रस्तुत गर्नुहुनेछ । यो बजेटमा स्वास्थ्य, पूर्वाधार र रोजगारीलाई प्राथमिकता दिइएको छ ।

सुदूरपश्चिम प्रदेशमा ४ बजे बोलाइएको बैठकमा आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । सुदूरपश्चितममा चालू आर्थिक वर्षको तुलनामा आकार सानो हुने र २८–२९ अर्ब रुपैयाँको बजेट आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *