Main News

गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

हिमालय टिभी
२०७८ जेठ ३१ गते १२:५२
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

३१ जेठ २०७८ पोखरा । कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले आज आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ ।

कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नवनियुक्त गठबन्धन सरकारले नियुक्ति पाएको तेस्रो दिनमै नीति तथा कार्यक्रम ल्याउन लागेको हो । प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनैपर्ने बाध्यता छ भने त्यसभन्दा अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।

प्रदेश सभा बैठक आज दिउँसो ३ बजे बस्दैछ । यसअघिकै सरकारले तयार पारेको नीति तथा कार्यक्रममा सामान्य हेरफेर गरेर पेश गर्ने तयारी गरिएको छ ।

प्रदेशसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारे टुङ्गो लगाएको छ । निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले कोरोना महामारी नियन्त्रण र स्थानीय पूर्वाधारलाई ध्यान दिंदै नीति तथा कार्यक्रम र बजेट तयार गरेको थियो ।

नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग लगायत प्राथमिकतामा रहने छन् । यस्तै सरकारले भोलि नै बजेट प्रस्तुत गर्ने तयारी पनि गरिरहेको छ ।

चालु वर्षका लागि ३४ अर्ब ८४ करोडको बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षको लागि पनि यही रकम हाराहारीकै बजेट ल्याउने तयारी भइरहेको सरकारले जनाएको छ ।

मन्त्रालय बाँडफाँडको टुंगो नलागेकाले भोलि मुख्यमन्त्री पोखरेलले नै अर्थमन्त्रीका रुपमा बजेट प्रस्तुत गर्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *