Main News

रुपन्देहीमा लिक्विड अक्सिजन प्लान्ट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३० गते २०:२७
रुपन्देहीमा लिक्विड अक्सिजन प्लान्ट (भिडियो रिपोर्टसहित)

३० जेठ २०७८ काठमाडौं । नेपालमै पहिलो पटक लिक्विड अक्सिजन प्लान्ट निर्माण कार्य शुरु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४, सेमरहवामा शंकर अक्सिजन ग्यास उद्योग प्रालिले १ अर्ब रुपैयाँको लागतमा यो उद्योग स्थापना गर्न लागेको हो ।

रुपन्देहीको सेमरहवामा बन्न लागेको लिक्विड अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभयो । प्रधानमन्त्रीले बालुवाटारबाटै शिलान्यास गरे पनि प्लान्ट निर्माणस्थलमा औपचारिक कार्यक्रम नै गरियो ।

कोरोना संक्रमणको दोश्रो लहरका बेलमा देशभर अक्सिजनको अभाव भयो । अक्सिजन अभावमा कतिपय संक्रमितले अकालमै ज्यान गुमाउनु पर्‍यो । त्यसैले शंकर अक्सिजन ग्याँस उद्योग प्रालिले लिक्विड अक्सिजन उत्पादन गर्न प्लान्ट स्थापना गर्न लागेको हो । १ अर्ब रुपैयाँ लगानीको यो उद्योगबाट १ वर्षभित्रमा लिक्विड अक्सिजन उत्पादन शुरु हुनेछ ।

यो प्लान्टबाट दिनमा ६० टन लिक्विड अक्सिजन र १ टन नाइट्रोजन ग्यास उत्पादन गर्न सकिनेछ । यसले नेपालमा अक्सिजनको अभाव धेरै हद सम्म कम गर्ने अपेक्षा छ । लागत, ढुवानी लगायतको खर्चमा कमी हुने भएकाले सिलिन्डरको अक्सिजन ग्यासभन्दा लिक्विड अक्सिजन सस्तो पर्छ ।

अक्सिजन अभाव भएका बेलामा केही ठूला अस्पतालले लिक्विड अक्सिजन ट्यांकी जडान गरिसकेका छन् । यो ट्यांकीमा अहिलेसम्म भारतबाट लिक्विड अक्सिजन ल्याएर भर्ने गरिएको छ । अब नेपालमै लिक्विड अक्सिजन उत्पादन शुरु भएमा आगामी दिनमा हुन सक्ने अक्सिजन अभावको संकट टार्न सहयोग पुग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *