Main News

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० देखि १५ दिन लम्बिने, केही क्षेत्र खुकुलो बनाउने तयारी

हिमालय टिभी
२०७८ जेठ ३० गते ९:१२
काठमाडौं उपत्यकामा निषेधाज्ञा १० देखि १५ दिन लम्बिने, केही क्षेत्र खुकुलो बनाउने तयारी

३० जेठ २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० देखि १५ दिनसम्म लम्बिने भएको छ । तर मोडालिटी परिवर्तन गरी केही खुकुलो बनाउने तयारी छ ।

काठमाडौं उपत्यकाको निषेधाज्ञा बारे छलफल गर्न तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ ।

दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसपालि विद्यालयका पुस्तक ढुवानी र विक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ । यस्तै, कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने छ । त्यसका लागि निश्चित समय तोकिने छ ।

कोरोना संक्रमण घटे पनि संक्रमण हुनसक्ने जोखिम कामयै रहेकाले निषेधाज्ञा थप गरिने उपत्यकाका तीनओटै जिल्ला प्रशासनले जनाएका छन् । काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम गर्न डेढ महिनाभन्दा लामो समयदेखि निषेधाज्ञा लगाइएको छ ।

निषेधाज्ञाको मारमा परेका विपन्न, मजदुर, यातायात व्यवसायी, स्थानीय तहले निषेधाज्ञा खुकुलो बनाइ काम गर्ने वातावरण मिलाइदिन माग गर्दै आएका छन् ।

काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरी उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै लैजानु पर्ने बताउनु भएको छ ।

उपत्यकाका सवारी आवागमन हुने नाकामा कडाइ गर्दै निषेधाज्ञा चरणवद्ध रुपमा खुकुलो बनाउँदै लैजाने तयारी छ ।

एकै पटक निषेधाज्ञा खुकुलो बनाउँदा फेरी संक्रमण फैलिने सक्ने जोखिम रहेकाले गृह मन्त्रालयले तत्काल निषेधाज्ञा हटाउन नहुनेमा जोड दिएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *