राजनीति

कांग्रेस पहिलो पटक प्रदेश सरकारको नेतृत्वमा, विश्वासपात्रको वहिर्गमनले ओलीलाई झट्का (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २९ गते २०:०८
कांग्रेस पहिलो पटक प्रदेश सरकारको नेतृत्वमा, विश्वासपात्रको वहिर्गमनले ओलीलाई झट्का (भिडियो रिपोर्टसहित)

२९ जेठ २०७९ पोखरा । राजनीतिक दाउपेचका बीच गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभयो । यसअघि पोखरेलले ३१ जना प्रदेश सांसदको हस्ताक्षरसहित हिजो प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुभएको थियो ।

तर आज ३ बजे मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले समेत दाबी पेश गरेको खबर आएपछि गण्डकीमा राजनीतिक अन्योल देखिएको थियो । त्यसपछि विपक्षी गठबन्धनका बहुमत सांसदले प्रदेश प्रमुखको कार्यालय बाहिर धर्ना दिए ।

तर प्रदेश कार्यालयले निकालेको विज्ञप्तिमा भने मुख्यमन्त्रीमा नेपालीको मात्रै दाबी परेको उल्लेख छ । पोखरेललाई कांग्रेसका १५, मा‌ओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २–२ तथा एकजना स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

गुरुङले पनि दाबी पेश गरेको खबर आएपछि प्रदेशसभा विघटन गर्न लागेको भन्दै चौतर्फी विरोध भएको थियो । सत्तारुढ नेकपा एमालेकै सांसदले समेत प्रदेशसभा विघटन् गरिए विद्रोह गर्ने चेतावनी दिएका थिए ।

आज मुख्यमन्त्री गुरुङको समेत दाबी परेको उहाँका प्रेस सल्लाहकारले संचारमाध्यमलाई बताएका थिए । तर प्रदेश कार्यालयले भने एउटा मात्रै दाबी परेको जनाएपछि मुख्यमन्त्रीको दाबी नै नपरेको पुष्टि भएको छ ।

प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन आज दिउँसो ३ बजेसम्मको समय दिनुभएको थियो । तर विपक्षी गठबन्धनले हिजो नै दाबी पेश गरेका थिए । नवनियुक्त मुख्यमन्त्री पोखरेलको आजै सपथ हुँदैछ । उहाँले आजै केहीलाई मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।

नवनियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गत निर्वाचनपछि सबैतिर प्रतिपक्षमा रहेको कांग्रेसले पहिलो पटक प्रदेशमा नेतृत्व गर्न लागेको हो । यसअघि कांग्रेस कर्णाली र प्रदेश २ सरकारमा भने सहभागी भइसकेको छ ।

तत्कालिन नेकपा विभाजित भएपछि कांग्रेसलाई फाइदा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने पृथ्बी सुब्बा गुरुङको बहिर्गमनले एमालेको संस्थापनलाई धक्का लागेको छ ।

चारवटा प्रदेश सरकार चलाइरहेको एमालेको हातबाट अब एउटा प्रदेश फुत्किएको छ । यो सँगै प्रधानमन्त्री ओलीलाई पनि तनाव भएको छ । गण्डकीको घटनाले अन्य प्रदेशमा पनि ओली समूहको मनोबल घटाएको छ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको भन्दै विपक्षीले राजिनामा मागिरहेका छन् ।

नीति तथा कार्यक्रममा बहुमत जुटाउन नसके मुख्यमन्त्री पोखरेलको पद पनि धरापमा पर्नेछ । लुम्बिनीमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने दलहरुबीच सहमति भइसकेको छ । विपक्षी दल र एमालेको नेपाल खनाल समूहले अन्य प्रदेशमा पनि मिलेर सरकार बनाउने रणनीति बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्