राजनीति

ओलीले सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गरेको पाँच पूर्वप्रधानमन्त्रीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २९ गते १८:५१
ओलीले सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गरेको पाँच पूर्वप्रधानमन्त्रीको आरोप (भिडियो रिपोर्टसहित)

२९ जेठ २०७८ काठमाडौं । पाँचजना पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गरेको आरोप लगाएका छन् ।

कामचलाउ बनिसकेका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेर पटकपटक मन्त्रिपरिषद् पुनर्गठन गरेकोमा पनि उनीहरुले आपत्ति जनाएका छन् ।

पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराई र माधवकुमार नेपालले आज संयुक्त वक्तव्य निकाली नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको सत्तालिप्साको कुरुप स्वरुप अहिले देखिएको आरोप लगाउनुभएको हो ।

राज्ययन्त्रलाई कोरोना महामारीबाट जनताको सुरक्षामा केन्द्रित गर्नुपर्नेमा प्रधानमन्त्रीले स्वार्थी सत्ता राजनीति, अन्योल, अनिश्चय र अस्थिरताको खेती गरिरहेको पूर्वप्रधानमन्त्रीको आरोप छ ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र नभएर महान्यायाधिवक्तामार्फत धम्क्याउने काम गरेको भन्दै पूर्व कार्यकारी प्रमुखले आपत्ति जनाएका छन् ।

उनीहरुले काम चलाउ सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न पनि चेतावनी दिएका छन् । यस्तै विज्ञप्तिमा काम चलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुंगा, बालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहितविपरीत र जनविरोधी निर्णय गरेकोमा पनि विरोध जनाइएको छ ।

आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने काम रोक्न पाँच पूर्वप्रधानमन्त्रीले माग गरेका छन् ।

प्रधानमन्त्री ओलीबाट निरन्तर एकपछि अर्को गरी नेपालको संविधानमाथि प्रहार गर्ने कार्य भइरहेको पनि विज्ञप्तिमा आरोप लगाइएको छ । भ्रष्टाचार र अनियमित कार्यलाई प्रधानमन्त्री र उहाँका निकटस्थबाट संरक्षण र प्रश्रय दिइएको पनि पूर्वप्रधानमन्त्रीको दाबी छ ।

पाँच पूर्व प्रधानमन्त्रीले संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाका विरुद्ध एक भएर लडन अपिल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्