Main News

गण्डकी प्रदेश मुख्यमन्त्रीमा फेरि पनि गुरुङको दाबी, प्रदेश प्रमुखको कार्यालयमा विक्षीको धर्ना

हिमालय टिभी
२०७८ जेठ २९ गते १६:३७
गण्डकी प्रदेश मुख्यमन्त्रीमा फेरि पनि गुरुङको दाबी, प्रदेश प्रमुखको कार्यालयमा विक्षीको धर्ना

२९ जेठ २०७८ पोखरा । गण्डकी प्रदेशमा पनि तल्लोस्तरको राजनीतिक दाउपेच देखिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत दाबी हालेको भनेर विपक्षी गठबन्धनलाई सरकार बनाउन नदिने प्रयास भएको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार बनाउन दिएको आज अपरान्ह ३ बजेको समयसीमाभित्र विपक्षी गठबन्धनको मात्रै दाबी परेको थियो । तर मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेको हवाला दिएर अर्को दाबी समेत परेको खबर ल्याइएको छ ।

मुख्यमन्त्री गुरुङ दाबी हाल्न प्रदेश प्रमुखको कार्यालय भने पुग्नुभएको थिएन । कसरी दाबी गरिएको भनेर स्पष्ट पारिएको छैन । तर मुख्यमन्त्रीले समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थन रहेको भन्दै दाबी पेश गरेको बताइएको छ ।

यसबारे प्रदेश कार्यालयले भने केही बताएको छैन । मुख्यमन्त्रीको समेत दाबी परेको खबर आउनासाथ विपक्षी दलका सबै सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

हिजो हस्ताक्षर गरेका ३१ जना सांसद नै अहिले प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बसेका छन् । विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले जसपा र जनमोर्चाको नाममा नक्कली दाबी गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

यसअघि केन्द्रमा विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गर्नुभएको थियो । गण्डकीमा पनि अहिले त्यही दोहोरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *