Main News

गण्डकीमा विपक्षी दलले जुटाए बहुमत, संयुक्त सरकार बनाउन दाबी पेश

हिमालय टिभी
२०७८ जेठ २८ गते १८:०५
गण्डकीमा विपक्षी दलले जुटाए बहुमत, संयुक्त सरकार बनाउन दाबी पेश

२८ जेठ २०७८ काठमाडौं । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन बहुमतसहित दाबी पेश गरेको छ ।

विपक्षी दलले ३१ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । दाबीमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ जनाको हस्ताक्षर छ ।

विपक्षी दलका सबै सांसद पनि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । उनीहरुले आफूहरु सशरीर आएको भन्दै हस्ताक्षर प्रमाणीकरणको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

मुख्यमन्त्रीमा दावी पेश गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस सांसद नेपालीले प्रदेश प्रमुखलाई छिटो निर्णय गर्न आग्रह गरेको जानकारी दिनुभयो ।

प्रदेश प्रमुख पौडेलले दावीबारे अध्ययन गर्ने र प्रक्रिया पुर्‍याएर निर्णय गर्ने बताउनुभएको छ । दाबी पेश गरेपछी प्रदेश प्रमुखले भोलिसम्म हेरेर निर्णय गर्ने बताएको पनि विपक्षी दलले बताएका छन् । त्यसअघि
प्रदेश प्रमुख पौडेलले २४ घण्टाको समय दिएर वैकल्पिक सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

प्रदेशसभा सचिवालयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेको भनि आज औपचारिक जानकारी गराएपछि प्रदेश प्रमुखबाट नयाँ सरकारका लागि आव्हान भएको हो ।

प्रदेश प्रमुख पौडेलले संविधानको धारा १ सय ६८ को उपधारा ५ अनुसारको सरकार गठनका लागि भोलि दिउँसो ३ बजेसम्मको समय दिनुभएको छ ।

भोलि ३ बजेसम्म समय रहे पनि विपक्षीले आजै दाबी पेश गरेका हुन् । प्रदेश सभामा हिजो भएको मतदानमा मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङका पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *