Main News

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, दलहरुले जारी गरे सांसदहरुलाई ह्वीप

हिमालय टिभी
२०७८ जेठ २७ गते ७:२३
गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, दलहरुले जारी गरे सांसदहरुलाई ह्वीप

२७ जेठ २०७८ पोखरा । गण्डकी प्रदेश सभा बैठक आज बस्दैछ । मध्याह्न १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिनु भएको थियो ।

संवैधानिक व्यवस्था अनुसार उहाँले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैका लागि उहाँले जेठ २५ गते आज विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराउनु भएको थियो ।

कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ गरी विपक्षी गठबन्धनमा ३० सांसद छन् ।

तर त्यसमध्ये एक जना सभामुख छन् भने जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने स्पष्ट धारणा दिइसकेकोले विपक्षीको पक्षमा ३० सांसद छन् । जनमोर्चाले सांसदबाट कारबाही गरेका कृष्ण थापालाई सर्वोच्चले पुनर्बहाली गरेसँगै उहाँले मुख्यमन्त्रीको पक्षमा समर्थन गर्ने बताइरहनु भएको छ ।

यस्तो अवस्थामा मुख्यमन्त्रीको पक्षमा २८ जना सांसदको समर्थन हुने देखिएको छ । यसअघि सत्ता पक्षमा लागेर मन्त्री भएका दीपक मनाङ्गे भनिने राजिव गुरुङले विपक्षी गठबन्धन रोज्नु भएको छ ।

मुख्यमन्त्री गुरुङलाई साथ दिँदा प्रदेशसभा विघटन हुनसक्ने भएकाले विघटन रोक्न विपक्षी गठबन्धनको पक्षमा उभिएको मन्त्री मनाङेले बताउनु भएको छ ।

सरकार जोगाउनकै लागि मुख्यमन्त्रीले आफूलाई मन्त्री बनाएको, तर सरकार ढल्ने मात्रै होइन, प्रदेशसभा नै विघटन हुने अवस्था आएपछि आफूले साथ छोड्ने निर्णय गरेको मनाङेको भनाइ छ । मनाङगेले साथ छोडेपछि मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको छ ।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज लिने विश्वासको मतको विपक्षमा उभिनका लागि दलहरुले आ–आफ्ना सांसदलाई ह्रवीप जारी गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संसदीय दलका छुट्टाछुट्टै बसेका बैठकले आफ्ना सांसदलाई ह्रवीप जारी गरेका छन् ।

यस्तैगरी नेकपा एमालेले पनि विश्वासको मतको पक्षमा उभिन आफ्ना सांसदलाई ह्रवीप जारी गर्ने तयारी गरेको छ ।

जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्रवीप जारी गरेको छ । गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *