Main News

तीन वटा मन्त्रालय लिएर कांग्रेस प्रदेश २ सरकारमा

हिमालय टिभी
२०७८ जेठ २६ गते १९:२०
तीन वटा मन्त्रालय लिएर कांग्रेस प्रदेश २ सरकारमा

२६ जेठ २०७८ धनुषा । नेपाली कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुने निश्चित भएको छ । तीन मन्त्रालय लिएर कांग्रेस प्रदेश सरकारमा जान लागेको हो ।

मुख्यमन्त्री एवं जनता समाजवादी पार्टीका संसदीय दलका नेता लालबाबुर राउत र कांग्रेस संसदीय दलका नेता राम सरोज यादवबीच सरकारमा सहभागी हुनेबारे आज दुई बुँदे सहमति भएको छ ।

सहमतिमा नेता रामसरोज यादवको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने उल्लेख छ । सहमतिमा मन्त्रालय बाँडफाँडबारे स्पष्ट नभए पनि कांग्रेसबाट तीनजना मन्त्री बन्ने पक्का भएको छ ।

यादवले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने बताइएको छ । बाँकी २ मन्त्रीको टुंगो लाग्न बाँकी रहे पनि कांग्रेसले उर्जा तथा खानेपानी र महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालय पाउने पनि जनाइएको छ । गत निर्वाचनपछि सबैतिर प्रतिपक्षी बनेको कांग्रेस यसअघि कर्णाली प्रदेश सरकारमा पनि सहभागी भइसकेको छ ।

जसपाकै ठाकुर पक्षका मन्त्री हटाएपछि मुख्यमन्त्री राउतले मन्त्रीपरिषद पुनर्गठन गर्न लाग्नुभएको छ । सरकारमा माओवादी केन्द्र पनि सहभागी हुँदैछ । माओवादी केन्द्र भरत साहको नेतृत्वमा सरकारमा जाने तयारीमा छ । तर मन्त्रालयबारे अझै सहमति जुटिसकेको छैन ।

माओवादीसँग सहमति भएपछि आजै रातीसम्म नयाँ मन्त्रीको सपथ हुन सक्ने मुख्यमन्त्री राउत निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *