बेञ्च परिवर्तन नहुने इजलासको अडानपछि संसद विघटनविरुद्धको रिटमा सुनुवाइ शुरु
२५ जेठ २०७८ काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका रिटमाथि सुनुवाइ शुरु भएको छ । इजलासका विषयमा रस्साकस्सीपछि बहस शुरु भएको हो ।
आइतबार यता ‘हेर्दाहेर्दै’मा रहेको यो मुद्दा आजका लागि पूरक पेसी सूचीमा चढेको हो । दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी हेर्दाहेर्दै स्थगित भएको थियो ।
तर आज बेन्च परिवर्तन नहुने इजलासले प्रष्ट पारेपछि सुनुवाइ अघि बढेको हो । शुरुवातमा कांग्रेस सभापति शेरबहादुर देउवाको रिट निवेदनबाट बहस शुरु भएको छ ।
इजलासले देउवासहित १ सय ४६ सांसदको रिट निवेदनका लागि ३० मिनेट समय दिएको छ । आइतबार प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन भएको थियो ।
आइतबार सरकारी पक्षका कानुन व्यवसायी र महान्यायधीवक्ता रमेश बडालले संवैधानिक न्यायाधीशद्वय कार्की र भट्टराई इजलासमा बस्न नहुने भन्दै प्रश्न उठाउनुभएको थियो ।
अधिवक्ता राजाराम गौतमलगायतले ११ जना न्यायाधीश सम्मिलित इजलास गठन गर्न नहुने भन्दै निवेदन दिएका थिए । तर यसबारे आज कुनै बहस भएन ।
कांग्रेस सभापति देउवासहित १ सय ४६ सांसदको रिट निवेदनमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन तोक्ने निर्णय बदर गर्न माग गरिएको छ ।
आज प्रतिनिधिसभा विघटनका मुद्दा सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासबाट न्यायाधीशलाई भगाउने कोसिस कतैबाट नहोस् भनेर बेच्नले सचेत गराएको छ ।
न्यायाधीश ईश्वर खतिवडाले संवैधानिक इजलासबारे उठेका प्रश्नले धेरै अनुभव प्राप्त भएको भन्दै आगामी दिनमा यस्ता कुरा नउठाउन रिट निवेदक र विपक्षीलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया