Main News

संसद विघटनविरुद्धको रिटमाथिको सुनुवाइ आजदेखि पुनः शुरु हुँदै

हिमालय टिभी
२०७८ जेठ २६ गते ८:०४
संसद विघटनविरुद्धको रिटमाथिको सुनुवाइ आजदेखि पुनः शुरु हुँदै

२६ जेठ २०७८ काठमाडौं । संवैधानिक इजलासमा लगातार दुई दिन स्थगित भएको प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ आजदेखि शुरु हुने भएको छ ।

आइतबारयता ‘हेर्दाहेर्दै’मा रहेको यो मुद्दा आजका लागि पूरक पेसी सूचीमा चढेको छ । सर्वोच्च प्रशासनका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा दुई दिन बिदामा बस्नु भएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ मा प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेका सबै रिट एकै ठाउँ राखेर जेठ १४ गतेदेखि संवैधानिक इजलासमा सुनुवाइ हुन थालेको थियो । तर, इजलास गठनका विषयमा भएको विवादले अहिलेसम्म मूल विषयमा बहस प्रवेश नै गरेको छैन ।

जेठ १४ मा प्रधानन्यायाधीश राणाले आफ्नो नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसीसहितको इजलास गठन गर्नु भएको थियो । तर, निवेदकहरूले न्यायाधीशद्वय श्रेष्ठ र केसीको यो मुद्दासँग ‘सार्थक सम्बन्ध’ भएकाले इजलासमा बस्न नमिल्नै भन्दै प्रश्न उठाएका थिए ।

केसीसहितको इजलासले एमाले र माओवादी केन्द्रको एकीकरण खारेज गरेको थियो भने श्रेष्ठसहितको इजलासले त्यस मुद्दामा पुनरावलोकनको निस्सा दिन अस्वीकार गरेको थियो ।

त्यसपछि अर्को सुनुवाइमा प्रधानन्यायाधीश राणाले वरिष्ठता क्रममा दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा, मीरा खड्का र आनन्दमोहन भट्टराईलाई राखेर संवैधानिक इजलास गठन गर्नु भएको छ । तर, वरिष्ठता क्रमअनुसार गठन गरिएको इजलासप्रति सरकार पक्षका कानून व्यवसायीले आपत्ति जनाएका छन् ।

वरिष्ठतम् न्यायाधीश कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्नुपर्ने उनीहरूको माग छ । राय राख्ने क्रममा न्यायाधीशद्वय कार्की र भट्टराईले यो मुद्दाबारे आफ्नो धारणा सार्वजनिक गरिसकेकाले उनीहरूप्रति आफूहरूलाई विश्वास नरहेको सरकार पक्षका वकिलको भनाइ थियो ।

आइतबार नै अन्य चार अधिवक्ताले सर्वोच्चका ११ न्यायाधीशको यस मुद्दासँग स्वार्थ बाझिने भन्दै इजलासमा बस्न नमिल्ने माग गर्दै निवेदन पेस गरेका छन् । तर, उनीहरूको निवेदन अगाडि बढ्ने–नबढ्ने टुंगो लागेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *