Main News

कोरोनाको अर्को लहरमा बालबालिका बढी जोखिममा पर्लान् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २५ गते २०:४२
कोरोनाको अर्को लहरमा बालबालिका बढी जोखिममा पर्लान् ? (भिडियो रिपोर्टसहित)

२५ जेठ २०७८ काठमाडौं । कोरोनाको अब आउने लहरमा बालबालिका बढी जोखिममा पर्ने प्रक्षेपण भइरहेको छ । सरकारले पनि सोही अनुसार तयारी गरिरहेको छ । तर अन्य उमेर समूहको ठुलो जनसंख्या खोपको पहुँचबाट बाहिरै रहेकाले अब आउने लहरमा बालबालिका मात्रै जोखिममा पर्छन् भनेर मान्न नसकिने विज्ञको तर्क छ ।

विश्वका विभिन्न देशमा भएका अध्ययनले कोरोना संक्रमणको तेस्रो र चौथो लहरमा बालबालिका बढी प्रभावित हुने देखाएको छ । नेपालमा पनि कतिपय विज्ञ र सरकारले पनि अब आउने लहरमा बालबालिका बढी संक्रमित हुने भन्दै अहिले देखि नै सावधानी अपनाउनुपर्ने बताइरहेका छन् ।

तर कतिपयको यसमा फरक मत छ । अब आउने लहरले बालबालिका नै सबैभन्दा बढी प्रभावित हुन्छन भनेर अहिले नै यकिन गर्न नसकिने उनीहरुको तर्क छ । बालरोग विशेषज्ञ समेत रहेका जनस्वास्थ्यविद डा बाबुराम मरासिनी पछि यस्तो हुन्छ भने अहिले नै धेरै आत्तिनु नहुने बताउनुहुन्छ ।

धेरै देशमा युवा र जेष्ठ नागरिकले खोप लगाइसक्ने भएकाले अबको लहरमा बालबालिका बढी प्रभावित हुने अनुमान गरिएको छ । तर नेपालमा ठुलो जनसंख्याले खोपको पहुँचबाट टाढा छ । त्यसैले खोप नपाउने सबै उमेर समूह संक्रमणको उत्तिकै जोखिममा हुने निश्चित छ ।

अभिभावक कामका लागि बाहिर निस्कनुपर्ने र बालबालिका विद्यालय जाने भएकाले जहिले पनि संक्रमणको उच्च जोखिममा हुन्छन् । त्यसैले यसमा अभिभावकले नै सावधानी अपनाउनुपर्ने विज्ञको सुझाव छ ।

कोरोना संक्रमणको दोस्रो लहरको दुई महिनाको अवधिमा २४ हजार ८ सय २१ बालबालिका संक्रमित भएका छन् । २२ जनाको मृत्यु भएको छ । पहिलो लहरमा २१ हजार ५ सय २३ बालबालिका संक्रमित भएका थिए ।

जसमध्ये ३८ जनाको ज्यान गएको थियो । सबै उमेर समूहको तुलनामा यो संख्या कम हो । तर अब आउने लहरबाट बालबालिका नै बढी संक्रमित हुने आंकलनसहित सरकार पनि पुर्व तयारीमा लागेको छ ।

स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा बालबालिकाको लागि २० प्रतिशत कोभिड बेड, अक्सिजन बेड र आइसीयु निर्माण गर्न निर्देशन दिइसकेको छ । पुर्व तयारी गर्नु पक्कै पनि नराम्रो होइन । तर अन्य देशले के का आधारमा आंकलन गरेका हुन् र हाम्रोमा त्यस्तो वातावरण छ कि छैन भन्नेतर्फ भने सरकारले ध्यान दिएको छैन ।

खोप लगाउन नसके आगामी लहरबाट पनि सबैभन्दा बढी युवा र जेष्ठ नागरिक नै प्रभावित हुने संभावना छ । संसारभरी नै बालबालिकामा संक्रमण भए पनि गम्भीर अवस्थामा पुग्नेको संख्या कम छ । त्यसैले सरकारको तयारी एकातिर र संक्रमणको असर अर्कातिर भयो झन ठुलो क्षति हुनसक्ने विज्ञको चेतावनी छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *