राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री यसरी बने झनै बलियो, विपक्ष झन कमजोर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २५ गते २०:२८
सुदूरपश्चिमका मुख्यमन्त्री यसरी बने झनै बलियो, विपक्ष झन कमजोर (भिडियो रिपोर्टसहित)

२५ जेठ २०७८ धनगढी । निर्वाचित भएको सवा तीन वर्षपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुभएको छ । नेकपा एमालेको केन्द्रको निर्णय विपरीत नेपाल–खनाल समूहले पक्षमा मतदान गरेपछि भट्टले विश्वास मत पाउनुभएको हो ।

प्रदेश सभामा उपस्थित ५१ मध्ये ३० जनाले भट्टको पक्षमा र ९ जनाले मात्रै विपक्षमा मतदान गरेका छन् । यसले मुख्यमन्त्री भट्ट झन बलियो भएको विष्लेषण गर्न थालिएको छ ।

नेकपा एमाले र नेकपा माओवादीको बाम गठबन्धनबाट मुख्यमन्त्री हुँदा मुख्यमन्त्री त्रिलोचन भट्टलाई ३९ जना प्रदेशसभा सदस्यको साथ थियो । तर सवा तीन वर्षपछि भट्ट झन बलियो हुनु भएको छ । कानूनी रुपमा उहाँले ३० सांसदको मत पाए पनि विपक्षमा जम्मा ९ जना मात्रै देखिएका छन् ।

मुख्यमन्त्री भट्टको पक्षमा माओवादीका १३ र एमाले नेपाल–खनाल समूहका १७ सांसदले मतदान गरे । नेपाली कांग्रेसले पनि भट्टलाई समर्थन जनाउँदै दुवै पक्षमा मतदान गरेन । जनता समाजवादी पार्टी जसपाका २ र एमाले ओली समूहका ७ जनाले मात्रै विपक्षमा मत हालेका छन् । विश्वासको मत पाएपछि मुख्यमन्त्री भट्टले सबै दलको भावना समेटेर अघि बढ्ने बताउनुभयो ।

नेपाली कांग्रेसले मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नआएमा मात्रै मतदान गर्ने आश्वासन दिएको थियो । तर विपक्षमा मतदान नगर्ने भनेपछि मात्रै प्रदेशसभाको बैठक शुरु भएको थियो ।

अन्य समय मुख्यमन्त्रीको विकल्प खोजिरहेको कांग्रेसले केन्द्रको राजनीतिका कारण विपक्षमा मतदान नगरेको बताएको छ । संविधानको रक्षा गर्न मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै उसले प्रतिपक्षमा बसेर खबरदारी गर्न भने नछाड्ने जनाएको छ ।

एमालेको ओली पक्षले भने माओवादीका मुख्यमन्त्री भट्टलाई समर्थन गर्ने आफ्ना दलका सांसद अब स्वतन्त्र बनेको दाबी गरेको छ । पार्टीले बनाएका सांसदले पार्टीकै निर्देशन नमानेको भन्दै उसले असन्तुष्टि जनाएको छ । तटस्थ बसेको कांग्रेस पनि अब प्रतिपक्षी नरहेको ओली समूहको तर्क छ ।

सुदूरपश्चिम प्रदेशका ५३ सांसदमध्ये एक जना माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहरा पदमुक्त हुनु भएको छ । सभामुखसहित ५२ जना प्रदेशसभा सदस्यमध्ये २५ जना एमालेका छन् । माओवादीका १३, कांग्रेसका १२ र जसपाका दुईजना छन् । एमालेका २५ मध्ये ७ जना मात्रै ओली समुहमा देखिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटिले पार्टी निर्णयको विरुद्ध मुख्यमन्त्रीका पक्षमा मत दिनेलाई कारवाही गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्