राजनीति

एमाले संस्थापन पक्षलाई नेपाल–खनाल समूहले दियो अर्को धक्का (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २५ गते १९:३९
एमाले संस्थापन पक्षलाई नेपाल–खनाल समूहले दियो अर्को धक्का (भिडियो रिपोर्टसहित)

२५ जेठ २०७८ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षलाई सुदूरपश्चिम प्रदेशमा पनि धक्का लागेको छ । त्यहाँ नेपाल–खनाल समूहले केन्द्र र प्रदेश कमिटीको निर्णय अश्विकार गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ । तर नेपाल–खनाल समूका कारण संस्थापनको उद्देश्य पूरा हुन नसकेको यो मात्रै घटना होइन । यसको एउटा लामै श्रृङखला बनेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिएपछि नेकपा एमालेका नेता भीम रावलले यसबाट विधि र पद्धति नमान्नेले शिक्षा लिनुपर्ने भन्दै व्यङ्ग गर्नुभयो । उहाँको व्यङ्ग एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलतिर लक्षित थियो । चर्को मतभेद चलिरहेको एमालेमा नेपाल–खनाल समूहले अहिले यसरी नै संस्थापनलाई झट्का दिइरहेको छ ।

सुदूरपश्चिम प्रदेशको मंगलबारको घटनाले पनि अध्यक्ष ओलीलाई अर्को धक्का दिएको छ । सुदूरपश्चिमको नतिजा त पछिल्लो उदाहरण मात्रै हो । यसअघि पनि नेपाल–खनाल पक्षले संस्थापनलाई धेरै पटक यस्तो तनाव दिइसकेको छ ।

जेठ १७ गते लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा पनि नेपाल–खनाल समूहले विपक्षी उम्मेद्वारलाई मत दियो । त्यहाँ राष्ट्रिय सभा सदस्यमा कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित हुनुभयो । प्रतिनिधिसभा विघटन गर्ने कदमको विपक्षमा भएका दलबीच संघमा जस्तै प्रदेशमा पनि गठबन्धन बन्यो र एमाले संस्थापन पराजित भयो । राष्ट्रिय सभा चुनावमै पनि एमाले संस्थापनलाई यो दोस्रो धक्का थियो।

यसअघि जेठ ६ गते बागमती प्रदेशमा भएको उपनिर्वाचनमा तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गरेर नेपाल–खनाल पक्षले पहिलो धक्का दिइसकेको थियो । लुम्बिनीमा भन्दा बागमतीमा फरक के थियो भने यहाँ विजयी हुने उम्मेद्वादर नेपाल–खनाल पक्षकै थिए । जहाँ अन्य सबै दलले सहयोग गरेर नेपाल–खनाल समूहका उम्मेदवार डाक्टर खिमलाल देवकोटालाई जिताएका थिए ।
राष्ट्रिय सभा चुनाव मा मात्रै होइन प्रदेशमै पनि नेपाल–खनाल समूहले संस्थापनलाई झटका दिइसकेको थियो ।

गत वैशाख ३ गते कर्णालीमा नेपाल–खनाल समूहका सांसदले फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाइदिए । जबकी अध्यक्ष ओली र उहाँ पक्षधर प्रदेशका नेता कर्णालीमा सरकार बदल्न चाहन्थे । नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले ुफ्लोर क्रसु गरेपछि संस्थापनको चाहनामा तुषारापात भयो ।

मुख्यमन्त्रीलाई मत हाल्नेलाई संस्थापनले कारवाही त गरेको छ तर त्यसले प्रदेश सरकारमा भने कुनै असर परेको छैन । एमाले संस्थापनलाई झट्का दिने क्रम अहिले सुदूरपश्चिम सम्म पुगेको छ । र यो क्रम अन्य प्रदेशमा पनि पुग्न सक्ने संभावना छ । बागमती र प्रदेश एकमा पनि नेपाल–खनाल समूह निर्णायक छ । त्यहाँ पनि उसले विपक्षीलाई सहयोग गरे ओली पक्षीय मुख्यमन्त्रीको पद धरापमा पर्नेछ ।

नेपाल–खनाल समूह अहिले जसरी पनि संस्थापनलाई पराजित गर्ने उद्देश्यमा देखिन्छ । आफुहरुलाई पार्टीमा पेलान भएपछि यसरी उत्रनुपरेको उसको तर्क छ । आफुहरुसँग निमिलेसम्म सबैतिर हार नै हार व्यहोर्नुपर्छ भन्ने सन्देश नेपाल–खनाल समूहले संस्थापनलाई दिन खोजिरहेको छ । जसमा उ सफल पनि भइरहेको छ । तर संस्थापनले यो सन्देश बुझेर एकताको गम्भीर प्रयास गर्छ कि नेपाल–खनाल समूहलाई झन पेल्नेतिर लाग्छ समग्र एमालेको भविष्य पनि त्यसमै निहित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्