Main News

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त, पक्षमा ३० विपक्षमा ९ मत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २५ गते १२:५२
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त, पक्षमा ३० विपक्षमा ९ मत (भिडियो रिपोर्टसहित)

२५ जेठ २०७८ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ । भट्टको पक्षमा ३० र विपक्षमा ९ मत परेको छ । नेपाली कांग्रेसका १२ सांसद तटस्थ बसेका छन् ।

मुख्यमन्त्री भट्टको पक्षमा नेकपा एमालेको नेपाल–खनाल पक्षमा १७ र नेकपा माओवादी केन्द्रका १३ सांसदले मतदान गरेका हुन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ र जनता समाजवादी पार्टीका दुई सांसदले विपक्षमा मतदान गरेका छन् ।

आजको बैठकमा ५१ सांसद उपस्थित थिए । एमालेको नेपाल–खनाल समूहले केन्द्रको निर्णयको अवज्ञा गर्दै भट्टको पक्षमा मत दिएको हो ।

एमालेको संस्थापन पक्षका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्न ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाउनुभएको थियो । तर एमाले संसदीय दलको बहुमत सदस्यले भट्टलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो ।

आज बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टको पक्षमा मत दिने निर्णय गरेको थियो। बैठकमा संस्थापन पक्षका सांसदहरुले भने मत दिन नहुने बताएका थिए । तर बहुमत सांसदहरु मत दिने पक्षमा उभिएपछि फरक मत पनि राख्न नदिएको ओली पक्षका सांसदले बताएका छन् ।

२४ सदस्यीय संसदीय दलमा ओली पक्षका ७ जना छन् । एमालेले मुख्यमन्त्रीका पक्षमा मतदान गर्ने भएपछि नेपाली कांग्रेस भने तटस्थ बसेको हो । प्रदेश सरकारले विश्वासको मत नपाउने अवस्थामा मात्र सरकारको निरन्तरताका लागि भूमिका निर्वाह गर्ने गरी काँग्रेसले रणनीति बनाएको थियो ।

तर एमालेको साथ पाएपछि कांग्रेसको आवश्यकता नपर्ने भएकाले कांग्रेस तटस्ठको भूमिकामा रहने भएको हो । ५२ सदस्यीय सभामा एमालेको सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना सांसद छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *