Main News

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

हिमालय टिभी
२०७८ जेठ २५ गते ८:००
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

२५ जेठ २०७८ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिंदै हुनुहुन्छ ।

माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका भट्टलाई निरन्तरता दिने विषयमा एमालेमा अन्तरविरोध छ ।

आज विश्वासको मत लिन लागेका मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ।

एमालेको संस्थापन पक्षका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाउनुभएको छ ।

तर एमाले संसदीय दलको बहुमत सदस्यले भट्टलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । ५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ।

अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना सांसद छन्।

माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टलाई मतदान गरे विश्वास प्राप्त हुनेछ ।

कांग्रेसले अहिलेसम्म पक्ष –विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन भने जसपाले केन्द्रमा रहेका आफ्ना पार्टीका नेतासँगको छलफलपछि निर्णय लिने बताउँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *