आजदेखि चीनबाट ल्याएको कोरोनाविरुद्धको खोप लगाइँदै
२५ जेठ २०७८ काठमाडौं । सरकारले आजदेखि चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप दिन शुरु गर्दैछ।
खोप लगाउने उमेर समूह संशोधन गरिएको छ। आजदेखि लगाउने भनिएको भेरोसेलको उमेर समूह परिवर्तन गर्दै उपत्याका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ।
यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिने भनेको थियो। तर, अन्तिम समयान आएर उपत्यका बाहिरका जिल्ल्लामा उमेर समूहमा संशोधन गरिएको हो।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले हिजो जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा आजदेखि शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ।
खोप उपलब्धताको आधारमा यो निर्णय गर्न प्रदेश स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिइएको छ। काठमाडौं उपत्यकामा भने ६० देखि ६४ वर्ष उमेर समूहले नै खोप पाउनेछन्।
यस्तै हिमाली जिल्लामा यसअघि नै ५५ वर्ष माथिकालाई खोप दिइएकोमा छुट भएकाहरुलाई सोही उमेर समूहकालाई दिइने बताइएको छ। तिब्बतसँग सिमा जोडिएका जिल्लामा भने १८ देखि ६४ वर्ष उमेर समूहकालाई नै दिइने बताइएको छ।
यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि पहिलो डोज दिइने जनाइएको छ।
प्रतिक्रिया