Main News

सुर्तीजन्य पदार्थको सेवनः न सय रुपैयाँको जरिवाना न कानूनको पालना

हिमालय टिभी
२०७८ जेठ २३ गते २०:३६
सुर्तीजन्य पदार्थको सेवनः न सय रुपैयाँको जरिवाना न कानूनको पालना

२३ जेठ २०७८ काठमाडौं । कार्यालयको एउटा कुनामा चुरोटका ठुटाहरु टन्नै देखिन्छ । बाहिर सडकमा निस्कियो, चुरोट, पराग, खैनीलगायतका बट्टा छरपस्ट देखिन्छन् । अनि निर्वाध चुरोट सल्काउनेहरु पनि यत्रतत्र देखिन्छन् । यस्तो दृष्य किन देखिन्छ ? सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ मा सार्वजनिक स्थलमा धुमपान तथा सुर्ती सेवन गर्न नहुने कुरा उल्लेख छ । यसको पालना सबैले सबैतिर गर्नुपर्ने होइन र ?

ऐन बनेको १० वर्ष बितिसकेको छ । तैपनि ऐन कार्यान्वयन किन हुन सकिरहेको छैन ? यसमा कार्यान्वयन गर्ने निकायको कमजोरी हो कि पालना नगर्नेहरुको ? पालना नगर्ने र कार्यान्वयन गराउन नसकिने हो भने ऐन कानून मात्र बनाएर हुन्छ ।

ऐनमा भनिएको छ– कसैले पनि सार्वजनिक स्थलमा धुमपान तथा सूर्ति सेवन गर्न पाउने छैन । सार्वजनिक स्थल भन्नाले सार्वजनिक शिक्षण संस्था, पुस्तकालय, तालीम तथा स्वास्थ्य सम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब,सार्वजनिक शौचालय, उद्योग तथा कल कारखानाका कार्यस्थल, चलचित्र घर, साँस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, रेष्टुरेण्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिपार्टमेण्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल, सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउण्टर लगाएतलाई मानिएको छ ।

सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ सेवन गरे जरिवानाको व्यवस्था समेत छ । तर सुर्तिजन्य पदार्थहरु चुरोट, पराग, गुट्खा, तमाखु खुलेआम सार्वजनिक स्थलमा प्रयोग भैरहेको छ । ऐनको दफा १७ मा सजायसम्बन्धी व्यवस्थाको उपदफा १ मा धुमपान वा सूर्ती सेवन गर्न तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउदा नमानेमा वा पटकपटक धुमपान वा सूर्ती सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिवाना वा दुवै सजाय गर्नुपर्ने उल्लेख गरिएको छ । तर उक्त सजायको कार्यन्वयन समेत पाइँदैन ।

विश्वमा वार्षिक सुर्तीजन्य पदार्थबाट ७० लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाउछ। त्यसमध्ये १२ लाख व्यक्तिको सँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने गरेको बताइएको छ । धुमपान सेवन गर्ने व्यक्तिसँगै उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको मृत्यु हुनुले, सार्वजनिक स्थल वा कुनै व्यक्तिको छेउमा बसेर धुमपान गर्दा पार्ने असरलाई देखाउछ । यसको मुख्य कारण धुमपान सार्वजनिक स्थलमा निर्वाध रुपमा गर्न दिनु पनि भएको चिकित्सकहरुको भनाइ छ ।

काठमाडौं मेडिकल कलेज सिनामंगलका फोक्सो तथा दमरोग विशेषज्ञ छाती रोग डाक्टर नवीन मिश्र भन्नुहुन्छ– एउटा चुरोटमा चार हजार किसिमका नराम्रा तत्व हुन्छन् । त्यस्तै दुई सय बढी क्यान्सर गराउने तत्वहरु हुने गर्छन् । चुरोट खाने व्यक्तिलाई फोक्सो, मुटु, मस्तिष्कमा असर गर्छ । अझै उनीहरुको कारणले गर्दा उनीहरु वरपर रहेका व्यक्तिलाई पनि यस्तो समस्या हुन सक्छ ।

जस्तै बालबालिका चुरोट वा सुर्तिजन्य पदार्थ सेवन गर्दैनन् तर उनीहरुको छेउमा कुनै पनि व्यक्तिले धुमपान गर्यो भने बालबालिकाको मस्तिष्कमा असर पुग्न सक्छ । गर्भवती महिलाको छेउमा चुरोट सेवन गर्दा महिलाबाट जन्मिने बच्चामा अपाङ्गतालगायत सुस्त मनस्थितिको समस्या देखिन सक्ने हुन्छ । धुमपान तथा सुर्तीजन्य पदार्थको सेवनले नसर्ने रोग क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र मधुमेह रोग हुने गरेको छ ।

सार्वजनिक स्थलमा धुमपान गर्न पाइँदैन भन्ने कुरा थाहा हुँदाहुँदै पनि निर्वाध रुपमा धुमपान गर्ने वातावरण कसरी बन्यो ? किनभने सार्वजनिक स्थलमा कसैले पनी धुमपान वा सुर्तिजन्य पदार्थ सेवन गर्नेहरुलाई कार्वाही गर्दैन । न कसैले ‘तिमी मेरो छेउमा बसेर धुमपान नगर’ भन्ने आँट नै गर्छ । जस्ले गर्दा धुम्रपान गर्नेहरुले पश्रय पाइरहेका छन् । एक तथ्याङ्कअनु्सार पाँच जनामध्ये दुई जना व्यक्ति अरुले खाएको धुमपानको धुवाँले पीडित हुने गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्था हेर्ने हो भने अन्य रोग भन्दा सुर्तिजन्य पदार्थको सेवनका कारण मानिसको मृत्यु बढी नै हुने गरेको छ । जथाभावी रुपमा धुमपानको प्रयोग हुँदा धुमपान नै नगर्ने व्यक्तिहरु पनि यसबाट प्रभावित छन् । यसलाई नजर अन्दाज गर्न मिल्दैन ।

किनभने सरकारले सार्वजनिक स्थलमा धुमपान गर्न नपाइने कुरा उल्लेख गरेको छ । तर कार्यान्वयन किन हुँदैन ? यसले पार्ने दीर्घकालिन असरका विषयमा बर्सेनी छलफल हुन्छ । यसको नकारात्मक हसरका विषयमा बहस पनि हुन्छन् । धुमपानको प्रयोगले पारेको स्वास्थ्य समस्या र यसका कारणले गर्दा भएको गरिबी र मृत्युको कुरालाई गम्भिरतापूर्वक लिनुपर्ने कुराले पनि महत्व पाउँछ । तैपनि नियन्त्रणको प्रयास शून्य बराबर नै देखिन्छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार नेपालमा प्रत्येक वर्ष २७ हजार व्यक्तिको मृत्यु धुमपान तथा सुर्तिजन्य पदार्थ सेवनका कारण हुने गरेको छ। हरेक तीन जना नेपालीमध्ये एक जनालाई धुमपान तथा सुर्तिजन्य पदार्थको लत लागेको छ ।

निस्क्रिय धुमपान ?
धुमपान गर्ने व्यक्तिले हावामा फालेको धुवाँ उसका वरिपरि रहेका व्यक्तिले लिन्छन् । यसरी हावामा धुवाँ लिने व्यक्तिलाई निस्क्रिय धुमपानकर्ता भनिन्छ । चुरोटबाट निस्कने धुवाँ २५ प्रतिशत धुमपान गर्ने व्यक्तिले शरीरमा तान्छ बाँकी ७५ प्रतिशत हावामा फाल्छ । धुमपान गर्ने व्यक्तिलाई मात्रै होइन वरपर रहेका व्यक्तिलाई पनि यसले उत्तिकै असर गर्छ । हावामा फालेको घुवाँमा धुमपान गर्ने व्यक्तिले खाएको धुवाँभन्दा दुई गुणा बढी निकोटिन, तिन गुणा टार, पाँच गुणा भन्दा बढी कार्वनडाइअक्साइड र ५० गुणाभन्दा बढी क्यान्सरजन्य रसायनहरु हुन्छन् । जस्ले गर्दा निस्क्रिय धुमपानकर्ताहरुलाई पनि प्राणघातक रोगहरु लाग्ने गर्छ । त्यसैले पनि सार्वजनिक स्थलमा धुमपान गर्नु अझै हानीकारक छ ।

सार्वजनिक स्थलमा मात्रै होइन, धुमपान छोड्नै पर्छ ?
–सुर्तीजन्य पदार्थमा करीब ४ हजारभन्दा बढी प्रकारका रसायनिक तत्वहरु पाइन्छन्।
–२ सय देखि ४ सयसम्म साह्रै हानीकारक रसायनहरु हुन्छन्।
–खासगरी सुर्तीमा खोटो र कार्बन मनोअक्र्साइड जस्ता प्राणघातक रसायनहरु पाइन्छन् भने निकोटिन जस्तो धुमपानको लत लगाउने तत्व पनि पाइन्छ।
–करिब ८ सय ७५ फोक्सोको क्यान्सरको एक मात्र कारण धुमपान हुने गरेको छ।
–सुर्तीजन्य पदार्थको सन्दर्भमा यसको असरबारे डब्लुएचओले भनेको छ–,सुर्तीजन्य पदार्थको सेवनले मानव शरीरमा २५ किसिमका विभिन्न रोगहरु लाग्न सक्दछन्।
–विश्वमा धुमपानको कारणले प्रत्येक ७ सेकेण्डमा १ जनाको मृत्यु हुन्छ।
–विश्वमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक वर्ष ६० लाख मानिसको मृत्यु हुन्छ जसमध्ये ६ लाखको अरुले सेवन गरेको असरले (सेकेण्ड ह्याण्ड स्मोकिङ) मृत्यु हुने गरेको छ। यो क्रम बढेर आगामी १५ वर्षमा ८० लाख मानिसको मृत्यु हुने र यसमध्ये अधिकांशको मृत्यु नेपालजस्तो विकासशील देशहरुमा हुनेछ।
–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रतिवेदन अनुसार सन् २०३० सम्ममा प्रतिवर्ष १ करोडको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारणले हुनेछ जसमा ६० लाख विकासोन्मुख राष्ट्रहरुका मात्र हुनेछन्।
–संसारका बालबालिकामध्ये आधाले सुर्तीको धुँवाको असरले प्रदूषित हावामा सास फेर्दछन्।
–विश्वमा हरेक १० जना वयस्कमा १ जनाको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुन्छ।
–बीसौं सताब्दीमा १० करोड मानिसको सुर्तीजन्य पदार्थका कारणले मृत्यु भएको थियो र हालको जस्तै अवस्था रहेमा २१ औं शताब्दीमा १ अर्ब मानिसको मृत्यु हुनेछ।
–सन् २०३० देखि हरेक वर्ष ८० लाखभन्दा धेरै मानिसको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुनेछ। यसमध्येका ८०५ मानिस नेपाल जस्तो विकासशील देशका हुनेछन्।

सुर्ती तथा सुर्तीजन्य पदार्थ सेवनको कारणले असर यस्तो गर्छः
मुख र घाँटीको क्यान्सर
फोक्सोको क्यान्सर
स्तनको क्यान्सर
पाठेघरको क्यान्सर
तालु खुइलिने
मोतिया विन्दु
छालाचाउरी पर्ने
श्रवणशक्ति कमजोर हुने
दाँत बिग्रने
दम बढ्ने खोकी लाग्ने
नङ पहेलो हुने
हाडहरु, कमजोर हुने
मुटुसम्बन्धी रोगहरु लाग्ने, रक्तचाप बढाउने, पेट र आन्द्रामा अल्सर हुने समस्या हुन्छ ।

धुमपान तथा सुर्तिजन्य पदार्थ सेवनले पार्ने धेरै छन् । सुर्तिजन्य पदार्थको सेवन नगर्ने हो भने स्वास्थ्य सुन्दर र स्वच्छ जीवन बाँच्न सहयोग पुग्ने विज्ञहरु बताउछन् । आफ्नो वरिपरिका व्यक्ति र आफैलाई माया गर्ने व्यक्ति धुम्रपानबाट टाढा हुन्छ । वरिपरिको वातावरणलाई सुन्दर बनाउन पनि धुमपान छोड्नुपर्छ । यसबाट व्यक्ति, परिवार र समाज मात्र होइन, सिंगो राष्ट्रलाई समेत सुन्दर र स्वस्थ्य बनाउन सहयोग पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *