राष्ट्रपतिबाट स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी
२३ जेठ २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने विरुद्ध कडा कारबाही गर्ने प्रावधान भएको अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ आज जारी गर्नुभएको हो ।
अध्यादेश जारी भएसँगै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्याउनेलाई दुई लाख रुपैयाँ जरिवाना, चार वर्ष कैद वा दुवै सजाय हुने छ ।
स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई धम्की दिने, मानसिक तनाव दिने वा अपमानजनक व्यवहार गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना, एक वर्ष कैद वा दुवै सजाय प्रस्ताव गरिएको छ ।
त्यस्तै बिरामीको उपचारमा अवरोध गर्नेलाई २० हजार रुपैयाँसम्म जरिवाना र तीन महिनासम्म कैद हुनेछ । स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्दै गएकाले सुरक्षाका लागि यो अध्यादेश ल्याइएको हो ।
पछिल्लो समय आक्रमण बढेका कारण कडा सजायको व्यवस्था सहित कानुन ल्याउन स्वास्थ्यकर्मीले माग गर्दै आएका थिए ।
प्रतिक्रिया