Main News

गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

हिमालय टिभी
२०७८ जेठ २३ गते १४:०७
गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

२३ जेठ २०७८ काठमाडौं । गण्डकी प्रदेशसभाको आज बस्ने भनिएको बैठक अनिश्चित भएको छ ।

प्रदेश सभा बैठक सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको छ । जेठ २७ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत लिने तयारी हुँदै गर्दा बैठक अचानक स्थगित भएको सूचना प्रकाशित भएको हो।

प्रदेश सभा सञ्चालन गर्न हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भौतिक पूर्वाधार मन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने प्रस्ताव गर्दा विपक्षीले असहमति जनाएका थिए ।

प्रदेश सभाको चालु बजेट अधिवेशन अघि बढाउन सरकारले पहिला विश्वासको मत लिनुपर्ने अडान राख्दै आएका विपक्षी दलले विश्वासको मत पनि छिट्टै लिनुपर्ने माग गरेका हुन्।

प्रदेश सरकारले जेठ १७ गते संसदमा टेबल गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामा समेत विपक्षी दलका सांसदले सुझाव दिएका थिएनन्।

अर्थमन्त्री किरण गुरुङले शुक्रबार बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको थियो।

मुख्यमन्त्री गुरूङसहित दलहरुसँग छलफल गरेर सहमति भएपछि बैठक बोलाउने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो । सरकारले विश्वासको मत लिनुभन्दा २ दिनअघि नै संसदमा सूचना दिनुपर्ने कानुनी प्रावधान छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *