राजनीति

बहुल राष्ट्रिय राज्य स्थापना गर्ने उपप्रधानमन्त्री महतोको भनाइको सर्वत्र विरोध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २२ गते २०:३७
बहुल राष्ट्रिय राज्य स्थापना गर्ने उपप्रधानमन्त्री महतोको भनाइको सर्वत्र विरोध (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७८ काठमाडौं । सरकारमा सहभागी भएलगत्तै राजपा नेता राजेन्द्र महतोको विवादास्पद अभिव्यक्ति आएको छ । उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै उहाँले अब बहुल राष्ट्रिय राज्य स्थापनाका लागि मुक्ति आन्दोलनको तयारी गर्ने बताउनुभयो । उहाँको यो अभिव्यक्तिको अहिले सर्वत्र विरोध भइरहेको छ ।

जसपाका नेता राजेन्द्र महतोको यो भनाइ उपप्रधानमन्त्री नियुक्त भएपछि आएको हो । उहाँ बहुल राष्ट्रिय राज्य स्थापना गर्ने जसपाको नीति रहेको र त्यो नीति पूरा गर्न अब सरकारमा बसेर मुक्ति आन्दोलनको तयारी गर्ने बताउनुहुन्छ ।

उपप्रधानमन्त्री महतोको यो भनाईको चौतर्फी रुपमा विरोध भइरहेको छ । कारण उहाँको यो भनाइ संविधानको भावना विपरित छ । किन कि उपप्रधानमन्त्री महतोले भनेजस्तो एउटै देशभित्र दुई वा त्यो भन्दा बढी राष्ट्रिय राज्यको परिकल्पना संविधानले गरेकै छैन ।

संविधान निर्माणका बेला यो मुद्धा उठेको थियो । तर बहुमतले अश्विकृत भयो । बहुल राष्ट्रिय राज्य बने भने एउटै देशभित्र पनि धेरै राज्य बन्नेछन् र उनीहरुलाई देशबाट छुट्ठिने सम्मको अधिकार हुन्छ । विशेषगरी दुई वा त्यो भन्दा बढी देश एकिकरण हुने क्रममा बहुल राष्ट्रिय राज्यको अभ्यास भएको थियो ।

संविधानको धारा ४ को उपधारा एकमा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर लेखिएको छ । र धारा २७४ को एकमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन भनेर लेखिएको छ ।

तर उपप्रधानमन्त्री महतो नेपालमा बहुल राष्ट्रिय राज्य स्थापना गर्ने योजनामा लाग्छु भन्नुहुन्छ । जुन संविधान विरोधी छ । त्यसैले महतोको यो भनाइको चौतर्फी आलोचना भइरहेको छ । उहाँलाई उपप्रधानमन्त्री बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीका दलकै नेताले समेत महतोको यो भनाइको चर्को विरोध गरिरहेका छन् ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पूर्व उपप्रधानमन्त्री वामदेव गौतम नेपाललाई विखण्डन गर्ने उद्देश्यका साथ महतोले आन्दोलन चलाइरहेको र त्यसले यो प्रतिक्रया आएको बताउनुहुन्छ । सामाजिक सञ्जाल फेसबूकमार्फत गौतमले नेपाललाई विघटन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन नसक्ने बताउनुभएको छ ।

एमाले नेता योगेश भट्टराईले पनि महतोको अभिव्यक्तिको आलोचना गर्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले ‘पहिलो र दोश्रो संबिधानसभा मै बहुल राष्ट्रिय राज्य असान्दर्भिक भैसकेको अवस्थामा मन्त्रीमा नियुक्त भएकै दिन यस्तो कुरा उठाउनु राम्रो संकेत नभएको टिप्पणी गर्नुभएको छ । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्ति माथि लगाम लगाउन उहाँले प्रधानमन्त्री ओलीलाई आग्रह गर्नु भएको छ ।

एमालेकै अर्का नेता गोकर्ण विष्टले पनि महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल रहेको बताउनुभएको छ । नेता विष्टले जिम्मेवार नेताबाट यस्ता अभिव्यक्ति आउनु अराजक र संविधान विरोधी भएको पनि उल्लेख गर्नुभएको छ । नेकपा एमालेका संस्थापन पक्षकै नेता कार्यकर्ताले पनि सामाजिक संजालमा महतोको चर्को विरोध गरेर लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्