Main News

तीन वर्ष दुई महिनामा १८ पटक मन्त्रिपरिषद् पुनर्गठन, सबै कामचलाउ आफू मात्र निर्विकल्प

हिमालय टिभी
२०७८ जेठ २२ गते ७:२३
तीन वर्ष दुई महिनामा १८ पटक मन्त्रिपरिषद् पुनर्गठन, सबै कामचलाउ आफू मात्र निर्विकल्प

२२ जेठ २०७८ काठमाडौं । स्थिर सरकारको प्रतिबद्धतासहित ०७४ साल फागुन ३ गते प्रधानमन्त्री बनेका केपी ओलीले तीन वर्ष दुई महिनामा १८ पटक मन्त्रिपरिषद् हेरफेर गर्नु भएको छ ।

ओली लोकतन्त्रमा कमसल वा अब्बल र टाढा वा निकटका कुनै पनि मन्त्री कुनै पनि बेला हट्न सक्छन्, र आफू मात्र निर्विकल्प भन्ने सन्देश पनि दिनु भएको छ ।

शुरुमा झन्डै दुईतिहाई बहुमतको प्रधानमन्त्री बनेका ओली पछिल्लोपटक वैशाख ३० मा संसदमा ठूलो दलको हैसियतमा अल्पमतको सरकारको प्रधानमन्त्री बन्नु भएको हो । तर, उहाँले विश्वासको मत नलिई जेठ ८ मा संसद् विघटन गरेपछि कामचलाउ सरकारको प्रधानमन्त्री बन्नु भएको छ ।

सरकार कामचलाउ भए पनि मन्त्रिपरिषद् पुनर्गठन भने जारी छ । नयाँ मन्त्रिमण्डलमा जनता समाजवादी पार्टी जसपाबाट उपप्रधानमन्त्री राजेन्द्र महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री बनेका छन् ।

शरतसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिंचाइ, अनिलकुमार झा खानेपानी, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्री बन्नु भएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त हुनु भएको छ ।

प्रधानमन्त्री ओलीले एमालेबाट सहभागी हुने मध्ये केहीलाई मन्त्रिपरिषदमाबाट हटाउनु भएको छ भने केही नयाँ अनुहारलाई सहभागी गराउँदै जिम्मेवारी हेरफेर समेत गर्नुभएको छ ।

अर्थमन्त्री समेत रहेका विष्णु पौडेल र अर्का एमाले नेता रघुवीर महासेठलाई परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्री बनाउनु भएको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री हटाइएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फे विदा हुनुभएको छ ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि विदा हुनुभयो । स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा हुनुभयो ।

मौजुदा मन्त्रिपरिषद्का चार मन्त्रीलाई भने प्रधानमन्त्री ओलीले कायमै राख्नु भएको छ । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

विस्तारपछि पनि गृहसहित केही मन्त्रालय अझै मन्त्री विहीन रहेका छन्। रामबहादुर थापा बादल पदमुक्त भएपछि खाली भएको गृहसँगै रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय अझै पनि मन्त्रीविहीन छन् । यी सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैले राख्नु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *