Main News

मन्त्रिपरिषद्मा व्यापक हेरफेर, कोको कुन मन्त्री बन्दै, कोको बाहिरिँदै ?

हिमालय टिभी
२०७८ जेठ २१ गते १९:०५
मन्त्रिपरिषद्मा व्यापक हेरफेर, कोको कुन मन्त्री बन्दै, कोको बाहिरिँदै ?

२१ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक फेरबदलको तयारी गर्नुभएको छ ।

जनता समाजवादी पार्टीको ठाकुर पक्षलाई सरकारमा ल्याएसँगै प्रधानमन्त्री ओलीले मन्त्रीमण्डलमा ब्यापक हेरफेरको तयारी गर्नुभएको हो ।

अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेललाई उपप्रधानमन्त्री बनाउने तयारी भइरहेको छ । यस्तै एमाले नेता रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्री बनाउन लागिएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले अहिलेका उपप्रधानमन्त्री इश्वर पोखरेललाई हटाएर तीनजना उपप्रधानमन्त्री बनाउन लाग्नुभएको हो । तिनमध्ये पौडेल पहिलो, महासेठ दोस्रो र महतो तेस्रो बरियतामा रहने बताइएको छ । महासेठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने संभावना छ ।

महासेठ पत्नी महिला बालबालिका मन्त्री जुली महतो पनि हटाइने लिष्टमा पर्नुभएको छ । यस्तै हृदयस त्रिपाठीलाई हटाएर शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने तयारी भएको छ ।

प्रधानमन्त्रीले केहीबाहेक अधिकांश मन्त्री हटाएर नयाँ ल्याउन लागेको बालुवाटार निकट स्रोतको भनाइ छ । तर नयाँ मन्त्रीबारे अझै टुङ्गो नलागेकाले सपथमा ढिलाइ भएको छ ।

नेता रामबहादुर थापाले पनि आफु निकटका केहीलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम बुझाउनुभएको छ । नामावलीले अन्तिम रुप पाएपछि आजै राती नयाँ मन्त्रीको सपथ हुने संभावना छ ।

यस्तै जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर समूह आज सरकारमा सहभागी हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता टिकाउन साथ दिने १९ जनामध्ये १० जना सरकारमा जाने पक्का भएको छ । नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने र आजै शपथ हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

८ मन्त्री र २ राज्यमन्त्री सहित सरकारमा जाँदैछ । जसपा नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्नुहुनेछ ।

यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्नुहुनेछ ।

वन मन्त्रालयमा एकबाल मियाँको समेत दावी रहेकोले शपथसम्म फेरबदल हुने संभावना पनि छ । यस्तै चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्य मन्त्री बन्नुहुनेछ ।

उपेन्द्र यादवको साथ छोडेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङले सरकारमा जाने मौका पाउनुभएको छ ।

६ बजे हुने भनिएको शपथ जसपाको महन्थ समूहमा विवाद भएपछि ढिलाई भएको छ । अन्तिम समयमा राजकिशोर यादव लगायतका नेता नपरेपछि विवाद भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *