कोरोना संक्रमणबाट पूर्वसांसद तामाङको निधन
२१ जेठ २०७८ काठमाडौं । कोरोना संक्रमणका कारण पूर्वसांसद विष्णुबहादुर तामाङको निधन भएको छ ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तामाङको झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । तामाङ उच्च रक्तचाप र मधुमेहका पनि बिरामी हुनुहुन्थ्यो ।
उहाँ २०४८ सालको आम निर्वाचनमा संयुक्त जनमोर्चाका तर्फबाट सिरहाको तत्कालीन निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित हुनुभएको थियो ।
२००० साल फागुनमा जन्मिएका तामाङ वामपन्थी नेता जयगोविन्द साहको नेतृत्वमा ग्रामीण वर्गसंघर्ष हुँदा तमसुक च्यात्ने आन्दोलनमा सक्रिय भएर उत्पीडित वर्गको पक्षमा उभिनुभएको थियो ।
तामाङलाई सरल, सादा र जुझारु नेताका रुपमा चिनिन्छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तामाङको निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया