Main News

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र चार वर्ष कैद

हिमालय टिभी
२०७८ जेठ २० गते ७:४६
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र चार वर्ष कैद

२० जेठ २०७८ काठमाडौं । सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र ४ वर्षसम्म कैद सजाय हुने व्यवस्थासहित अध्यादेश ल्याउने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशको मस्यौदा तयार पारेको छ ।

जसमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्‍याउनेलाई दुई लाख जरिवाना वा चार वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।

स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई पनि यही सजाय प्रस्ताव गरिएको छ । विधेयकमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई धम्की दिने, मानसिक तनाव दिने वा अपमानजनक व्यवहार गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्ष कैद वा दुबै सजाय प्रस्ताव गरिएको छ ।

त्यस्तै बिरामीको उपचारमा अवरोध गर्नेलाई २० हजार रुपैयाँसम्म जरिवाना र ३ महिनासम्म कैद प्रस्ताव गरिएको छ । स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेतका अनुसार स्वास्थ्यले पठाएको प्रस्ताव मन्त्रिपरिषदको विधायक समितिमा छलफलको चरणमा छ ।

लगत्तै मन्त्रिपरिषद बैठकमा पेश हुनेछ । स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्दै गएकाले स्वास्थ्यकर्मीको सुरक्षाको लागि अध्यादेश ल्याउने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *