लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुरु, पहिलो दिनमै मुख्यमन्त्रीमाथि खनिए विपक्षी

Himalaya Television
२०७८ जेठ १९ गते १५:१८

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुरु, पहिलो दिनमै मुख्यमन्त्रीमाथि खनिए विपक्षी

१९ जेठ २०७८ रुपन्देही । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुरु भएको छ । बैठकको शुरुमै विपक्षी दल मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आक्रामक रुपमा उत्रिएका छन् ।

बुटवलमा जारी प्रदेश सभा बैठकमा विपक्षी दलका सांसदले कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रदेश र संघीय सरकारको चर्को आलोचना गरेका छन् ।

विपक्षी दलले मुख्यमन्त्री पोखरेलको वैधतामा पनि प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँले मुख्यमन्त्रीले सपथ लिएको ३० दिन पूरा भए पनि विश्वासको मत नलिएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले प्रदेश सरकार अल्पमतमा रहेको राष्ट्रिय सभाको उपचुनावले पनि पुष्टि गरेको बताउनुभयो । कांग्रेसले मुख्यमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने माग गरेको छ ।

पूर्वमन्त्री तथा माओवादीका सांसद सुदर्शन बरालले नैतिकताका आधारमा तत्काल राजीनामा दिन मुख्यमन्त्रीलाई सुझाव दिनुभयो । राजीनामा नदिए कानूनी र राजनीतिक प्रतिवाद गर्ने बरालको भनाइ छ ।

जनता समाजवादी पार्टीका सहशराम यादवले नेकपा एमाले तलदेखि माथिसम्म गणतन्त्र समाप्त पार्न लागि परेको आरोप लगाउनुभयो । उहाँले अल्पमतमा रहेका मुख्यमन्त्रीलाई सपथ गराएको भन्दै प्रदेश प्रमुखको पनि आलोचना गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले अधिनायकवादी शैलीले प्रदेश सरकार अल्पमतमा परेको बताउनुभयो ।

गत वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेकोमा मुख्यमन्त्री पोखरेलले वैशाख १९ गते बोलाइएको संसद बैठक बस्न नपाउँदै अर्कै बाटोबाट पुनः नियुक्त लिएपछि विपक्षी गठबन्धन असन्तुष्ट छ ।

धारा १६८ को १ अनुसार नयाँ सरकार गठन भएकाले अविश्वास प्रस्ताव लैजान नमिल्ने सत्तारुढ एमालेको दाबी छ । विपक्षी गठबन्धनले भने कानून विपरीत मुख्यमन्त्री पुनः नियुक्ति भएको भन्दै राजीनामा मागिरहेका छन् ।

लुम्बिनी प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चामा एक सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs