Main News

एसईई परीक्षाबारे सरकारी निर्णय, जथाभावी निर्णयले विद्यार्थीमा असर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १८ गते २०:२२
एसईई परीक्षाबारे सरकारी निर्णय, जथाभावी निर्णयले विद्यार्थीमा असर (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७८ काठमाडौं । मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षा सञ्चालन गर्न नसकिने भन्दै आन्तरिक मूल्यांकनबाटै विद्यार्थीको नतिजा निकाल्ने निर्णय गरेको छ । गत वर्ष जस्तै यो पटक पनि कोरोना महामारीले एसइइ परीक्षा प्रभावित भएको छ । सरकारले अन्तिम समयमा निर्णय गर्दा विद्यार्थीमा भने असर परेको छ ।

गतवर्ष पनि कोरोना महामारीकै कारण एसईई परीक्षा सञ्चालन गर्न नसकेपछि आन्तरिक मूल्याकंनकै आधारमा नतिजा प्रकाशन गरिएको थियो । सरकारले यो वर्ष पनि एसईई परीक्षाको नतिजा आन्तरिक मूल्याकंनमै गर्ने निर्णय गरिसकेको छ । सरकारले यसरी मनलाग्दी रुपमा बेवारिसे तरिकाले निर्णय गर्ने गरेको भन्दै शिक्षाविद् असन्तुष्ट छन् । यस्ता निर्णयले विद्यार्थीको मनोविज्ञानलाई असर पर्ने उनीहरुको तर्क छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार महिना अघि नै एसईईको आन्तरिक मूल्यांकन सक्ने तयारी गरेको थियो । एसइइ परीक्षाका लागि गत वर्ष नै राष्ट्रिय परीक्षा बोर्डले छुट्टै कार्यविधि तयार पारेको छ ।

यसपालि पनि सोही कार्यविधिका आधारमा विद्यार्थीको मूल्यांकन गर्न लागिएको हो । यसरी पटक पटक संघीय सरकारले निर्णय गर्ने भन्दा स्थानीय तहलाई नै कक्षा १२ सम्मको जिम्मेवारी दिए समस्या नआउने अभिभावकहरुको बुझाई छ ।

सरकारले समयमै निर्णय नगर्दा अभिभावक र विद्यार्थी अन्योलमा परे । अब भने परीक्षा वा पठनपाठन जुनसुकै अवस्थामा पनि नरोकिने गरी सरकारले निर्णय गर्नुपर्ने विज्ञको सुझाव छ ।

देशभर ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारीमा छन् । यी सबै विद्यार्थीले आन्तरिक मूल्याकंनका आधारमा ग्रेड प्राप्त गर्नेछन् । यसरी विद्यालयले आफैले नम्बर दिदाँ विद्यार्थीको सहि मूल्याकंन नहुने भन्दै आलोचना पनि भैरहेको छ । गत वर्ष पनि जथाभावी नम्बर दिएको भन्दै आलोचना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *