Main News

अब को को न्यायाधीश पर्लान संवैधानिक इजलासमा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १८ गते २०:११
अब को को न्यायाधीश पर्लान संवैधानिक इजलासमा ? (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा संवैधानिक इजलास गठनको मापदण्ड फेर्न तयार हुनुभएको छ । अब नियमावली संशोधन भएमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन हुनेछ । त्यसो भएमा प्रतिनिधीसभा विघटनको मुद्दामा को को न्यायाधीश आउनेछन त ?

१. चोलेन्द्रशम्शेर जबरा
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा स्वतः संवैधानिक इजलासमा रहनुहुनेछ । किनकी संविधानमा नै प्रधानन्यायाधीशको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन हुने व्यवस्था छ । अर्थात संविधानले नै प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलासको परिकल्पना गरेका छैन । त्यसैले अहिलेको मापदण्ड फेरबदल भए पनि प्रधानन्यायाधीश जबराको उपस्थितिमा कुनै फरक पर्ने छैन ।

२. दीपककुमार कार्की
वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की प्रधानन्यायाधीश पछिको वरियतामा हुनुहुन्छ । सोमबार भएको सहमति अनुसार नियमावली संशोधन भए पनि कार्कीलाई कुनै फरक पर्ने छैन । उहाँ पनि संवैधानिक इजलासमा पर्नुहुनेछ । संसद विघटन सम्बन्धी मुद्दा हेर्न पहिले बनेको इजलासमा वरिष्ठ भएपनि कार्की पर्नुभएको थिएन भने यसपटक इजलासमा राखिएको थियो । तर शुरुमै इजलास विवादमा परेपछि कार्कीले इजलास छोड्नुभयो । कार्कीले प्रधानन्यायाधीशका कतिपय कामकारवाहीमा प्रश्न उठाउँदै आउनुभएको छ ।

३. मीरा खड्का
अब वरिष्ठताको आधारमा इजलास बनाउँदा न्यायाधीश मीरा खड्का पनि पर्नुहुनेछ । किनकी खड्का दोस्रो वरिष्ठता क्रममा हुनुहुन्छ । वरिष्ठ भए पनि प्रतिनिधिसभा विघटनका दुवै पटकका मुद्दाको इजलासमा पर्नुभएको थिएन ।

४. हरिकृष्ण कार्की
मीरा खड्का पछि न्यायाधीश हरिकृष्ण कार्की वरिष्ठताको क्रममा हुनुहन्छ । त्यसैले वरिष्ठताका आधारमा इजलास बनाउँदा कार्की पर्ने देखिन्छ । तर यसअघि नै प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइका लागि इजलासमा परेपनि कानून व्यवसायीले प्रश्न उठाएपछि कार्की पछि हट्नुभएको थियो ।

पहिलो कार्यकालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएको र कार्कीकै ल फर्म पार्टनर अग्निप्रसाद खरेल महान्यायाधिवक्ता भएकाले प्रश्न उठेपछि उहाँले इजलासमा नबस्ने घोषणा गर्नुभएको थियो । यसपटकको इजलासमा कार्की पर्नुभएन । नियमावली संशोधन भएपछि इजलासमा बस्ने वा नबस्ने भन्नेबारे फेरिन कार्कीले नै निर्णय गर्नुपर्ने स्थिति छ ।

५. विश्वम्भरप्रसाद श्रेष्ठ
त्यसपछि पालो आउँछ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको प्रधानन्यायाधीशको रोल क्रममा समेत रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ यसअघि पनि प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका लागि बनेको इजलासमा हुनुहुन्थ्यो । तर यसपटक श्रेष्ठ इजलासमा पर्नुभएको थिएन । परिवारका सदस्यलाई कोरोना संक्रमण भएकाले श्रेष्ठ अहिले आइसोलेसनमा रहेको बुझिएको छ। श्रेष्ठ सहितको इजलासले नै गत फागुन ११ गते संसद पुनर्स्थापना गरिदिएको थियो ।

६. ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई
सर्वोच्चका न्यायाधीशको रोलक्रममा श्रेष्ठपछि ईश्वरप्रसाद खतिवडा र खतिवडापछि डाक्टर आनन्दमोहन भट्टराई हुनुहुन्छ । त्यसैले कथम कदाचित हरिकृष्ण कार्कीले पुरानो विषयका कारणले फेरि पनि इजलासमा नबस्ने घोषणा गरे खतिवडाले मौका पाउनुहुनेछ । त्यस्तै कार्कीसँगै आइसोलेशनबाट बाहिर आउने अवस्था नभएर विश्वम्भर श्रेष्ठ नबसेमा डाक्टर भट्टराईले पनि मौका पाउनुहुनेछ । भट्टराई पछिल्लो पटक बनेको इजलासमा पर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *