Main News

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ एक सातापछि नयाँ संवैधानिक इजलासमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १८ गते १९:०९
संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ एक सातापछि नयाँ संवैधानिक इजलासमा  (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७८ काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अब एक हप्तापछि नयाँ संवैधानिक इजलासमा हुने भएको छ । मुद्दाको छिनोफानो गर्न बनेको संवैधानिक इजलाशनै विवादमा परेपछि नयाँ इजलास बनाउने सहमति भएको हो ।

दुई जना वरिष्ठ न्यायाधीश दीपककुमार कार्की र डाक्टर आनन्दमोहन भट्टराईले इजलास छोडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जेठ २३ सम्मका लागि मुद्दाको सुनुवाइ स्थगित गर्नुभएको छ ।

आज बसेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराले वरिष्ठताका आधारमा नयाँ इजलास बनाउने जानकारी गराउनुभएको छ । त्यसका लागि प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत बार एशोसिएसनसित पनि सहमति जनाउनुभएको छ ।

संवैधानिक इजलासबारे विवाद भएपछि छलफलका लागि गएको बारको टोली र प्रधानन्यायाधीश जबराबीच वरिष्ठताका आधारमा नयाँ इजलास बनाउने समझदारी भएको हो । त्यसका लागि संवैधानिक इजलास गठनसम्बन्धी नियमावली–२०७२ समेत संशोधन गरिनेछ ।

बारका पदाधिकारीसँग भएको समझदारीपछि संवैधानिक इजलासमा गएका प्रधानन्यायाधीश जबराले नयाँ इजलास गठन गर्ने जानकारी गराउनुभएको हो । अब विवाद नहुने प्रधानन्यायाधीश जबराको अपेक्षा छ । एक हप्ताभित्र नियमावली संशोधन गरिने र त्यो सर्वोच्चको फूलकोर्ट र न्यायपरिषदबाट पारित गरिने पनि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिनुभयो ।

एक हप्ताको समयसीमा अनुसार नै प्रधानन्यायाधीश जबराले सुनुवाइ २३ गतेसम्मका लागि स्थगित गर्नुभएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसद विघटनविरुद्धका मुद्दा हेर्न जेठ १५ गते आफ्नो नेतृत्वमा दीपकुमार कार्की, डाक्टर आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रेहको संवैधानिक इजलास गठन गर्नुभएको थियो ।

तर शुरुदेखिनै इजलास विवादमा पर्यो । खास गरी बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको विगतको फैसला र आदेशले उहाँहरुमाथि प्रश्न उठ्यो । र, कानून व्यवसायीले इजलास छोड्न दबाब दिएका थिए ।

तर केसी र श्रेष्ठले नमानेपछि त्यसमा असहमति जनाउँदै न्यायाधीश कार्की र भट्टराईले इजलास छोड्नुभयो । र, यसले नयाँ इजलास बनाउन प्रधानन्यायाधीशमाथि दबाब परेको मानिएको छ । किनकी कार्की र भट्टराईले हिजो अरु १० जना न्यायाधीशसित इजलास छोड्ने विषयमा समेत छुट्टै छलफल गर्नुभएको थियो ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *