Main News

विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन

हिमालय टिभी
२०७८ जेठ १८ गते १७:२१
विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन

१८ जेठ २०७८ काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको निधन भएको हो । कोरोना संक्रमणसँगै गम्भीर बिरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि जेठ १४ गतेदेखि उहाँको मेडिसिटी अस्पतालमा भर्ना गरी इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।

थापाको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आए पनि शरीरका अंगले काम गर्न नसक्दा बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

परिवार तथा शुभेच्छुकको तर्फबाट जारी वक्तव्यमा अन्त्येष्टि साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा राखिएको उल्लेख छ ।

नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्ने थापा पेशाले सूचना प्रविधि क्षेत्रका उद्यमी हुनुहुन्थ्यो । उहाँकै अगुवाईमा अभियानका रुपमा सुरु भएको विकेकशील नेपाली दल पछि निर्वाचन आयोगमा दर्ता भई निर्वाचनमा सहभागी भएको थियो ।

कोरोना संक्रमणका कारण बिरामी परेपछि उहाँको उपचारका लागि शुभेच्छुकले स्वःस्फूर्त रुपमा चन्दा संकलन अभियान चलाएका थिए ।
यसैबीच विवेकशील साझा पार्टीले संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनले सिङ्गो पार्टी पङ्क्ति स्तब्ध भएको जनाएको छ । पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्वसंयोजक थापाका निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले थापाका स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्यतिथिमा प्रत्येक सदस्य र शुभचिन्तकलाई कम्तीमा एउटा वृक्षरोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यलाई आह्वान गरेको पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेद्वारा आज जारी शोक वक्तव्यमा उल्लेख छ ।

दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपराह्न ४ः२५ बजे निधन भएको हो । पार्टीमा ‘उज्ज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने निर्णय भएको पनि वक्तव्य उल्लेख छ ।

नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेल्नुभएको थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘खासगरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकारलगायत मुद्दामा दलले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमका लागि राज्यलाई दवाव दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ ।’

संस्थापक थापाले अँगाल्नुभएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई पार्टीले अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्ने जनाएको छ । पार्टीले पीडाका क्षणमा परिवारजनमा समवेदना व्यक्त गर्दै उपचारका क्रममा स्वास्थ्यलाभ कामना गरी स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि सबैमा आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *