Main News

उपत्यकाको निषेधाज्ञाबारे छलफल गर्न तीन जिल्लाका सीडीओको बैठक बस्दै

हिमालय टिभी
२०७८ जेठ १८ गते १३:३८
उपत्यकाको निषेधाज्ञाबारे छलफल गर्न तीन जिल्लाका सीडीओको बैठक बस्दै

१८ जेठ २०७८ काठमाडौं । काठमाडौं उपत्यकाका जारी निषेधाज्ञाबारे थप निर्णयका लागि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ ।

अघिल्लोपटक कोरोना महामारी नियन्त्रणका लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आजको बैठकमा पछिल्लो पटक लगाइएको निषेधाज्ञाको समीक्षा गर्दै निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो र व्यवस्थित गर्नेबारे छलफल हुने जानकारी दिनुभयो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेर कोरोनाको ग्राफ विश्लेषण गरी थप निर्णय लिने बताउनुभयो ।

पछिल्लो पटक खाद्य पसलहरुमा समेत लगाइएको प्रतिबन्धले भिड धेरै हदसम्म नियन्त्रणमा आएको निष्कर्षमा अधिकारीहरु पुगेका छन् । अब खाद्य सामग्री बिक्रीमा केही खुकुलो र व्यवस्थित बनाउनेबारे तयारी छ ।

कोरोना संक्रमणको दर उच्च भएपछि उपत्यकामा शुक्रबारदेखि एकसाताका लागि निषेधाज्ञामा कडाइ गरिएको छ । स्वास्थ्य मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा हाल संक्रमण दर केही घटेको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *