Main News

चीनले दिएको कोरोनाविरुद्धको ९ लाख डोज खोप आज नेपाल आइपुग्दै

हिमालय टिभी
२०७८ जेठ १८ गते ७:३०
चीनले दिएको कोरोनाविरुद्धको ९ लाख डोज खोप आज नेपाल आइपुग्दै

१८ जेठ २०७८ काठमाडौं । चीनबाट कोरोनाविरुद्धको ९ लाख डोज खोप आज नेपाल आइपुग्दैछ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउन लागेको हो ।

खोप लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान गए राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ । विमानले आज २ बजेसम्म ८ लाख खोप नेपाल ल्याइ पुर्याउनेछ ।

त्यस्तै, चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको झन्डै १ लाख डोज खोप हिमालयन एयरलाइन्सको दुई चार्टर्ड विमानमार्फत आज १ लाख र भोलि १ लाख ल्याइने कार्यतालिका तय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

जसको प्राथमिकतामा ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिक परेका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा तारानाथ पोखरेलका अनुसार उच्च जोखिम समूहमा रहेकालाई खोप उपलब्ध गराइनेछ ।

पोखरेलका अनुसार संक्रमण जोखिम हेरेर ठाउँ विशेषमा खोप लगाउन सकिने र राष्ट्रिय खोप कार्ययोजनाअनुसार अभियान अघि बढ्नेछ । खोप उपलब्धता आधार मानेर ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये ‘कसलाई पहिले दिने’ भन्ने तय गरिने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६५ वर्षमाथि ९ लाख बढी र झन्डै साढे १४ लाख ज्येष्ठ नागरिक दोस्रो मात्रा खोपको पर्खाइमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *