Main News

न्यायाधीशमाथिको नैतिकताको प्रश्न, केसी र श्रेष्ठले इजलासमै जवाफ दिने

हिमालय टिभी
२०७८ जेठ १८ गते ७:२४
न्यायाधीशमाथिको नैतिकताको प्रश्न, केसी र श्रेष्ठले इजलासमै जवाफ दिने

१८ जेठ २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथिको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा तोकिएका न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठले मुद्दा हेर्न नमिल्ने भनी आफूमाथि उठेको प्रश्नको जवाफ इजलासमै दिने तयारी गर्नु भएको छ । संवैधानिक इजलास आज बस्दैछ ।

आफूहरूमाथि प्रश्न उठेपछि केसी र श्रेष्ठले हिजो सर्वोच्चमा विभिन्न पक्षसँग छलफल गर्नु भएको थियो । सर्वोच्चका न्यायाधीशहरूबीच विभिन्न समूहमा भएको छलफलमा उहाँहरू ‘विवादका बीच इजलासमा बस्न गाह्रो हुने’ निष्कर्षमा पुग्नु भएको हो ।

यति धेरै प्रश्न उठेपछि इजलासमा बस्न हुन्न भन्नेमा उहाँहरूको पनि स्वीकारोक्ति रहेको बुझिएको छ । हिजो सर्वोच्च अदालतमै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित संवैधानिक इजलासमा तोकिएका न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, केसी र श्रेष्ठबीच पनि छलफल भएको थियो ।

पाँच जनाको एक घण्टा भन्दा बढी समय भएको छलफल सकिएलगत्तै न्यायाधीशद्वय कार्की, भट्टराई तथा प्रश्न उठाइएका न्यायाधीशद्वय केसी र श्रेष्ठले छुट्टाछुट्टै छलफल गर्नु भएको थियो । केसी र श्रेष्ठले इजलास छोडेमा संवैधानिक इजलास पुनर्गठनको विषयमा पनि न्यायाधीशहरू बीच छलफल भएको छ ।

त्यसमा वरिष्ठताको आधारमा इजलास तोक्न प्रधानन्यायाधीशलाई अनुरोध गर्न सकिने र यसका लागि आवश्यकता परे न्यायाधीशद्वय कार्की र भट्टराईले पनि इजलास छोड्न सक्ने बारेमा छलफल भएको थियो ।

यदि वरिष्ठताका आधारमा बेञ्च गठन हुने भएमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठको इजलास हुनेछ ।

तर, यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा महान्यायाधिवक्ता भएका कारण ओलीविरुद्धको मुद्दा हेर्न नमिल्ने प्रश्न उठेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि यस पटक पनि प्रश्न उठ्न सक्ने देखिन्छ ।

त्यसैले पाँचजनाको इजलास गठन हुँदा ईश्वर खतिवडा समेत पर्ने देखिन्छ । न्यायाधीशद्वय केसी र श्रेष्ठमाथि प्रश्न उठाउनेहरूले पनि वरिष्ठताको आधारमा इजलास गठन गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *