बजेटबारे के भन्छ कांग्रेस ? (भिडियो रिपोर्टसहित)
१७ जेठ २०७८ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको तेश्रो दिन आज मुख्य विपक्षी दल नेपाली कांग्रेसले बजेटबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । यो बजेटलाई कांग्रेसले चुनावमा जनमत प्रभावित दुराशयबाट आएको आरोप लगाएको छ । र बजेटमार्फत सरकारले नागरिकमा भ्रम छरेको उसको दाबी छ ।
छायाँ सरकारका अर्थमन्त्रीसमेत रहेका नेता डाक्टर मिनेन्द्र रिजालले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर बजेटबारे कांग्रेसको धारणा सार्वजनिक गर्नुभयो । र यो बजेट चुनावमा जनमत प्रभावित गर्ने दुरासयबाट आएको आरोप लगाउनुभयो ।
सरकारले बजेटबाट नागरिकमा भ्रम छरेको कांग्रेसको अर्को आरोप पनि छ ।
पूराना आयोजनालाई पनि समावेश गरेर सरकारले नागरिकमा भ्रम छरेको उसको दावी छ ।
३ वर्षको अवधिमा ठोस उपलब्धि बिना नै सरकारले देशको ऋण ८ खर्बबाट दोब्बर बढार १६ खर्ब बनाएको कांग्रेसले आरोप लगाएको छ । बजेटबारे राजनीतिक प्रतिक्रिया मात्रै होइन, कार्यान्वयनका विषयमा पनि उसको विश्लेषण आएको छ । बजेटमा राखेका आयोजना कार्यान्वयन हुने संभावना नै नरहेको कांग्रेसको दावी छ ।
सरकारले बजेटमा पेश गरेका भौतिक उपलब्धिका लक्ष्य कुनै पनि वास्तविकतामा आधारित नरहेको तर्क पनि उसले अघि सारेको छ । बजेट वक्तव्यमा भनिए जस्तो अर्थतन्त्रको विस्तार ६ दशमलव ५ प्रतिशत हुने सम्भव नै नरहेको छायाँ सरकारका अर्थमन्त्री रिजालले दावी पनि गर्नुभयो ।
स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता, प्रधानमन्त्रीका गैरजिम्मेवारपूर्ण अभिव्यक्ति लगायतका कारणले देशको अर्थतन्त्रले क्षति व्यहोरेको कांग्रेको भनाइ छ ।
समग्रमा, कोरोना कहरबाट प्रताडित आफन्तजन गुमाएका, आफै संक्रमणमा परेका, रोजगारी गुमाएका वा त्यस्तो जोखिममा परेका तथा अर्थतन्त्रको गतिहिनता र राजनीतिक दाउपेच, खिचातानीबाट आजित र निरास नागरिकमाझ बजेटले कुनै पनि आशा जागृत गर्न नसकेको कांग्रेसको ठहर छ ।
प्रतिक्रिया