राजनीति

लुम्बिनीबाट राष्ट्रिय सभा उपनिर्वाचनमा विजयी दृगनारायण पाण्डे के भन्छन् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १७ गते २०:१८
लुम्बिनीबाट राष्ट्रिय सभा उपनिर्वाचनमा विजयी दृगनारायण पाण्डे के भन्छन् ? (भिडियो रिपोर्टसहित)

१७ जेठ २०७८ दाङ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ । पाण्डेयले ४ हजार १ सय ४० मत प्राप्त गर्नुभयो नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत पाउनुभएको छ ।

लुम्बिनी प्रदेशको उपनिर्वाचनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित दृगनारायण पाण्डेयले आफ्नो जीत लोकतन्त्रको जीत भएको प्रतित्रिया दिनुभयो । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्माको ओलीको कदमको विपक्षमा भएका दलहरुबीच संघमा जस्तै प्रदेशमा पनि गठबन्धन बन्यो र कांग्रेसका उम्मेदवार विजयी हुनुभयो ।

ओलीको कदमलाई प्रतिगामी भनेर कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाले लुम्बिनीमा पनि गठबन्धन बनाएर पाण्डेयलाई जिताए । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ १ सय १८ जनाको मत पाउनु भएको छ ।

एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा प्रदेशसभा सदस्य ८३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १३ गरी २९६ मत खसेको थियो ।

प्रदेशसभा र स्थानीय तहतर्फका १र१ मत बदर भयो । पाण्डे प्रदेशसभाको दुई हजार १६ र स्थानीय तहको दुई हजार एक २४ गरी कूल ४ हजार १ सय ४० मतभारसहित विजयी हुनुभयो । नेकपा एमालेका उम्मेदवार खड्काले प्रदेशसभाको १ हजार ९ सय २० र स्थानीय तहको १ हजार ६ सय ९२ गरी कूल ३ हजार ६ सय १२ मतभार प्राप्त गर्नुभयो ।

विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्य त्याग गरी एमाले छोडेर नेपाली कांग्रेस प्रवेश गर्नु भएको थियो ।राष्ट्रियससभा सदस्य चन्द्रबहादुर खड्का माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि पदमुक्त हुनुभएको थियो । र त्यो पद खाली भएको थियो । जहाँ उपनिर्वाचन हुँदा एमालेबाट खड्का नै उम्मेदवार हुनुभयो ।

विपक्षी गठबन्धनको समर्थनमा कांग्रेसले पाण्डेयलाई उम्मेदवार बनायो । २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा पाण्डेय एमालेको तर्फबाट कपिलवस्तु २ को (१) बाट निर्वाचित हुनु भएको थियो ।

गत वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर पुनः नियुक्त भएपछि पाण्डेयले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिनुभएको थियो । र त्यही दिन कांग्रेस प्रवेश गरेका पाण्डेयलाई विपक्षी गठबन्धनले राष्ट्रिय सभा उपनिर्वाचनको साझा उम्मेदवार बनायो ।

राष्ट्रिय सभा चुनावमा प्रधानमन्त्री ओलीलाई यो दोस्रो धक्का हो । यसअघि निवर्तनमान गृहमन्त्री रामबहादुर थापा बागमती प्रदेशमा भएको उपनिर्वाचनमा पनि पराजित हुनुभएको थियो । दुवै पराजयमा एमालेकै नेपाल(खनाल समूह निर्णायक बन्यो । बागमतीमा नेपाल खनाल समूहले विपक्षी गठबन्धनसँग मिलेर आफ्ना उम्मेदवार डाक्टर खिमलाल देवकोटालाई जिताएको थियो ।

यो नतिजाले राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेशसभाका ८३ सांसदमध्ये नेकपा एमालेका उम्मेदवार खड्काले ४० मत मात्र पाउनुले प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको पनि पुष्टि भएको छ । र यो चुनावले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको वचन पनि कार्यान्वयन भएको छैन ।

थापाले बागमतीमा जस्तै सत्तारूढ दल एमालेको पक्षमा मत हाल्न निर्देशन जारी गर्नु भएको थियो । तर,न उहाँको निर्देशन धादिङको रुबी भ्याली गाउँपालिकाका प्रमुख र उपप्रमुखले टेरे न त नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल समशेर राणाले नै । राणाले आफ्नो प्राथमिकता कोरोना नियन्त्र‌‌ण हो चुनाव होइन भन्दै बहिष्कार गर्नुभयो । यसले थापाको प्रधानमन्त्री ओलीसितको सामिप्यताले काम गरेको देखिएन ।

भिडियोका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्