Main News

कसरी घट्दैछ दैनिक कोरोना संक्रमितको संख्या… ? के भन्छन् विज्ञ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १७ गते २०:१३
कसरी घट्दैछ दैनिक कोरोना संक्रमितको संख्या… ? के भन्छन् विज्ञ ? (भिडियो रिपोर्टसहित)

१७ जेठ २०७८ काठमाडौं । पछिल्लो समय सरकारले सार्वजनिक गर्ने तथ्यांकमा कोरोना संक्रमित संख्या घटेको देखिएको छ । वैशाख २८ गते एकैदिन अहिलेसम्मकै धेरै ९ हजार ४ सय ८३ जना संक्रमित भेटिएकोमा त्यसको २० दिनपछि आज संक्रमित संख्या झण्डै आधा घटेर ४ हजार ७ सय ६२ मा झरेको छ ।

दुई महिनाअघि दैनिक १ सयको हाराहारीमा र त्यसभन्दा अघि त दिनमा १ सय जनाभन्दा पनि कममा कोरोना संक्रमण हुने गरेको थियो । तर चैतको तेश्रो हफ्ता शुरु भएसँगै कोरोना संक्रमितको तथ्यांक दिन दुई गुणा रात चौगुणाको दरमा बढ्यो र वैशाख २८ गते त एकै दिन अहिलेसम्मकै उच्च ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भयो । तर त्यसयता भने कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।

पछिल्लो एक हप्ताको तथ्यांक मात्र केलाउँदा पनि संक्रमितको संख्या ओरालो लागेको देखिन्छ । जेठ १० गते ७ हजार चार सय २५, ११ गते ८ हजार ३ सय ३६, १२ गते ६ हजार ७ सय १४, १३ गते ६ हजार ९ सय ३९, १४ गते ६ हजार ९ सय ५१, ५१ गते ४ हजार ४ सय ८७ र १६ गते ४ हजार ३ सय ६९ संक्रमित थपिएको तथ्यांक सरकारले सार्वजनिक गरेको छ ।

सरकारको तथ्यांकमा मात्र हैन, अस्पतालहरुमा देखिने गरेका दृष्यले पनि संक्रमण केही कम भएको पुष्टि हुन्छ । कोरोना संक्रमण अहिलेसम्मकै उच्च पुगेको वैशाखको अन्तिम हप्तातिर काठमाडौं उपत्यकासहितका अस्पतालमा बिरामीका लागि बेड उपलब्ध थिएन । कतिपय अस्पतालले बाहिर पाल राखेर पनि संक्रमितको उपचार गरेका थिए । अहिले संक्रमण कम भएसँगै बिरामी अस्पताल भित्रै अटाउन थालेका छन् ।

संक्रमितको संख्या घटेको तथ्यांक सार्वजनिक भएसँगै कतिपयले परीक्षण दर घटाएर संक्रमितको संख्या थोरै देखाएको आरोप पनि लगाउने गरेका छन् । किनकी सबैभन्दा धेरै संक्रमित भेटिएको दिन वैशाख २८ गते पीसीआर र एन्टिजेन दुवै गरेर २१ हजार ३ सय १६ जनाको परीक्षण गरिएको थियो । तर वैशाख १६ गते ४ हजार ३ सय ६९ संक्रमित थपिएको दिन पीसीआर र एन्टिजेन दुवै गरेर १२ हजार ७ सय ७० जनाको परीक्षण गरिएको छ ।

परीक्षण गरिएको संख्या र संक्रमितको संख्या हेर्दा परीक्षण घटेकै कारण संक्रमित घटेको देखिए पनि त्यस्तै हैन । किन कि सरकारले दोश्रो लहर शुरु भएपछि वा त्यसअघि कन्ट्रयाक ट्रेसिङ्ग गरेर अर्थात संभावित संक्रमित खोजेर परीक्षण गर्ने गरेको छैन ।

यो बिचमा जे जति संक्रमित भेटिएका छन् । ती सबै विरामी भएर वा संक्रमणको शंका लागेर आफैले स्वस्फुर्त रुपमा परीक्षण गराएका हुन् । अहिले विरामी हुने वा संक्रमणको शंका गर्ने घटेका छन् । त्यसैले परीक्षण गराउनेको संख्या घटेको छ र सँगसँगै संक्रमितको संख्या पनि ।

अहिले धेरै जसो गाउँघरमा बिरामी बढेका छन् । शहरको तुलनामा गाउँघरमा परिक्षण र उपचार गराउने प्रवृत्ति कम छ । त्यसैले कतिपय कोरोनाका संभावित संक्रमित अहिले पनि बिरामी भएर घरमै बसेको तर परीक्षण गराउन नआएको स्थिति छ । त्यसैले कोरोना संक्रमण घट्यो भनेर अहिले नै खुसी भइहाल्ने स्थिति छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *