कालोकोटधारीहरुले अदालतको न्यायिक प्रणाली बिगारेको प्रधानमन्त्री ओलीको आरोप

१७ जेठ २०७८ काठमाडौं । संवैधानिक एजलाससम्बन्धी विवादमा प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रवेश गर्नुभएको छ ।
एमाले निकट यूवा संघको सचिवालय बैठकलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओली यो विषयमा प्रतिक्रिया दिनुभएको हो । वकिलहरूले नै फैसला लेखिदिनुपर्ने हो भन्दै प्रधानमन्त्री ओलीले संसद् विघटनसम्बन्धी मुद्दामा बहस गरिरहेका कानून व्यवसायीमाथि प्रश्न उठाउनुभयो ।
कालोकोटधारीहरूले अदालतको न्यायिक प्रणालीलाई बिगार्न लागेको प्रधानमन्त्रीको आरोप छ । कानून व्यवसायीले न्यायाधीशहरूको मानसम्मान गरिमा किञ्चित ख्याल नगरेको प्रधानमन्त्रीले आरोप लगाउनुभयो ।
वकिलहरूले न्यायाधीश तय गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गर्नुभयो । वकिलहरूले लेखेर ल्याएको, पढेर सुनाउ भनेको न्यायाधीश चाहिएको हो भनेर पनि प्रधानमन्त्रीले प्रश्न गर्नुभयो ।
प्रधानमन्त्री ओली संसद विघटनविरुद्ध विज्ञप्ति निकाल्ने चार जना पूर्व प्रधानन्यायाधीशमाथि पनि खनिनुभयो । पूर्वप्रधानन्यायाधीशहरूले पेन्सन खाएर न्यायिक प्रणाली बिगार्न लागेको प्रधानमन्त्रीको आरोप छ ।
उनीहरुले आफ्ना पालामा केही नगरेको तर सरकारले गर्न लागेको काममा अवरोध गर्न लागी परेको प्रधानमन्त्रीले आरोप लगाउनुभयो ।
प्रतिक्रिया