बजेटको प्रशंसा भैरहँदा अन्य रोग र उपचारलाई सरकारले बिर्सिएको आरोप (भिडियो रिपोर्टसहित)

१६ जेठ २०७८ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रमा छुुट्याइएको बजेटको प्रशंसा भैरहेको छ । तर केहीले भने स्वास्थ्य क्षेत्रको बजेट सबै कोरोना नियन्त्रणमा केन्द्रित रहेको र अन्य रोग र उपचारलाई सरकारले बिर्सिएको आरोप लगाएका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिएर बजेट ल्याएको छ । स्वास्थ्य क्षेत्रमा कुल बजेटको ७ दशमलव ४५ प्रतिशत अर्थात १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
जुन पोहोरको तुलनामा ३३ अर्ब रुपैयाँ धेरै हो । त्यसैले स्वास्थ्य क्षेत्रका लागि अहिलेसम्मकै राम्रो बजेट आएको भनिएको छ । कोरोना नियन्त्रणलाई विशेष प्राथमिकतामा राखेको सरकारले संक्रमितको उपचारमा चाहिने एचडीयु, आईसीयु, भेन्टिलेटर खरिदका लागि रकम छु्ट्याइएको छ ।
सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क लगायतका विषय बजेटको प्राथमिकतामा छ । तर सरकारले कोराना संक्रमण नियन्त्रणका लागि राम्रो बजेट छुट्याए पनि त्यो बाहेक अन्य स्वास्थ्य क्षेत्रका लागि भने प्राथमिकता नदिएको पूर्व स्वास्थ्य सचिव डाक्टर किरण रेग्मीको गुनासो छ ।
सरकारले कोरोना विरुद्धको खोप अभियानलाई विशेष प्राथमिकतामा राखेको छ । जुन स्वागतयोग्य र अहिलेको पहिलो आवश्यकता हो । तर यसबाहेक गर्भवती, अन्य जटिल प्रकारका बिरामी, बालबालिका, जेष्ठ नागरिकको स्वास्थ्य सेवामा सरकारको ध्यान पुगेको छैन ।
सरकारले नभएका पालिकाहरुमा अस्पताल खोल्ने, केन्द्रमा ३ सय बेड र प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल स्थापना, एक सय वेड माथिका अस्पतालमा अक्सिजन प्लान्ट अनिवार्य गर्नेलगायतका व्यवस्था पनि गरेको छ । तर यो योजना कार्यान्वयन हुनेमा आशंका छ ।
भक्तपुरमा बन्न लागेको वीर अस्पताल परियोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएको छ । यस्तै स्वास्थ्य बीमा कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकाको सुविधा शतप्रतिशत वृद्धि, निजी र सामुदायिक अस्पताललाई ५० प्रतिशत अनुदान दिन पनि बजेट छुट्याइएको छ ।
नसर्ने रोगको विषयलाई बजेटले समावेस गर्न सकेको छैन । पर्याप्त जनशक्ति नर्सिङ स्टाफ, मेडिकल अधिकृत र विशेषज्ञको दरबन्दी र लोकसेवाबाट पदपूर्ति गर्ने कुरा सम्बोधन भएको छैन । नेपालको सडक दुर्घटना र दुर्घटना पश्चात प्रतिकार्य, उपचार, पुनर्स्थापनाका लागि बजेटले समेटिएको छैन ।
प्रतिक्रिया