Main News

भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको यस्तो माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १६ गते २०:३५
भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको यस्तो माग (भिडियो रिपोर्टसहित)

१६ जेठ २०७८ बाँके । नेपालगन्जका चिकित्सक र नर्सहरुले ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि आक्रमण र हातपात गर्नेलाई जेल विदाउट बेल अर्थात धरौटीमा नछाडि जेल मै राखेर कारबाही गर्ने कानूनी व्यवस्था गर्न माग गरेका छन् ।

स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीलाई थामथुम पार्न अस्पतालमा २–४ दिन सुरक्षाकर्मी बढाएर मात्रै नहुने भन्दै कडा कारबाही हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

स्वास्थ्यकर्मीको सुरक्षाका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ छ । यो ऐनमा स्वास्थ्यकर्मी अथवा स्वास्थ्य संस्थामा हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने उल्लेख छ । तर यो कानून प्रभावकारी नहुँदा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि कहिल्यै पनि कडा कारबाही नभएको स्वास्थ्यकर्मीको गुनासो छ ।

गत बैशाख २४ गते भेरी अस्पतालको इमर्जेन्सी वार्डमा कार्यरत हेल्थ असिसटेन्ट पुपेन्द्र शाहीमाथि ३–४ जनाको अपरिचित ब्यक्तिले हातपात गरे । घटनापछि अस्पतालका प्रमुख डा. प्रकाश थापा र अध्यक्ष प्रमोद धितालले विज्ञप्ती निकालेर दोषीमाथि कारबाही र सुरक्षाको माग गर्नुभयो । तर दोषी माथि कुनै कारबाही भएन ।

२०७७ भदौ १९ गते आफुलाई सामाजिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीसँगै भेरी अस्पतालमा पुगेका युवाले फिजिसियन डा. विपिन आचार्य र स्टाफ नर्समाथि दुर्व्यवहार गरे । स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार गर्न खोज्ने एक जना युवालाई स्वास्थ्यकर्मीले नियन्त्रणमा लिएर कारबाहीका लागि प्रहरीमा बुझाए । तर कारबाही भएन ।

जेठ १३ गते फेरि भेरी अस्पतालको कोभिड वार्डमा कार्यरत डाक्टर र नर्समाथि आक्रमण भयो । दोषीलाई कारबाहीको माग राखेर आन्दोलन गरे । चिकित्सक र नर्समाथि आक्रमण भएपछि आन्दोलनमा उत्रिएका पेसागत संघसंस्थाले अध्यादेशमार्फत जेल विदआउट बेलको व्यवस्था भएको कानून ल्याएर स्वास्थ्यकर्मीलाई भयरहित ढंगले काम गर्ने वातावरण बनाउन माग गरेका छन् ।

घट्नाक्रमहरुले चिकित्सक र स्वास्थ्यकर्मीले असुरक्षित महशुस हुने वातावरण बनेको देखिन्छ । त्यसैले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यान दिएर सरकारले उचित र आवश्यक कदम चाल्नुपर्छ ।

भिडियो हेर्न लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *