Main News

कानूनविदले उठाए दुई न्यायाधीशको नैतिकतामाथि प्रश्न, केसी र श्रेष्ठलाई इजलासबाट हट्न दबाव

हिमालय टिभी
२०७८ जेठ १६ गते १५:०९
कानूनविदले उठाए दुई न्यायाधीशको नैतिकतामाथि प्रश्न, केसी र श्रेष्ठलाई इजलासबाट हट्न दबाव

१६ जेठ २०७८ काठमाडौं । कानूनविदहरुले नैतिकताको प्रश्न उठाउँदै न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई संसद विघटनसम्बन्धी इजलासबाट हट्न दबाब दिएका छन् ।

संसद् विघटनसम्बन्धी मुद्दाको टुंगो लगाउन बनाइएको ५ सदस्यीय संवैधानिक इजलासमा रहेका न्यायाधीश केसी र श्रेष्ठका विषयमा नैतिकताको प्रश्न उठाउँदै कानूनविदहरुले निष्पक्ष न्याय सम्पादन हुनेमा शंका व्यक्त गरेका हुन् ।

कानूनविद गोविन्द बन्दी, शम्भु थापा, बद्रीबहादुर कार्कीले प्रश्न उठेपछि न्यायाधीश केसी र श्रेष्ठ इजलाशबाट हट्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठ र केसी बाहेकको इजलास हुनुपर्ने कानूनविदको माग छ ।

न्यायाधीश श्रेष्ठले नेकपाको एकता भंग गरेर एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेकाले देशको राजनीति अर्कै दिशामा गएको र केसीले त्यो फैसला पुनरावलोकन नहुने आदेश दिएकाले बस्न नमिल्ने कानूनविद्हरुको तर्क छ ।

तर यसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आपत्ति जनाउँदै त्यसरी प्रश्न उठाउने अधिकार नभएको बताउनुभयो । तर कानूनविदहरुले प्रश्न उठेपछि इजलासबाट अलग भएमा न्यायिक निष्पक्षतामा मद्दत पुग्ने बताए ।

यसपछि प्रधानन्यायाधीश जबराले मेरा बारेमा पनि प्रश्न हो भनेपछि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आफैले ‘विचार गर्नोस’ भनेर जवाफ दिनुभयो भने वरिष्ठ अधिवक्ता शम्भु थापाले ‘विदा बसे भैहाल्यो’ भन्नुभयो ।

संसद विघटनविरुद्धको रिटमा कानूनविदको प्रश्नमा महान्यायाधिवक्ता रमेश बडालले भने कडा आपत्ति जनाउनुभयो ।

रिट निवेदकका कानून व्यवसायीले भनेझैं गर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धका कुनै पनि मुद्दा अदालतले हेर्न नमिल्ने बडालले जिकिर गर्नुभयो । बडालले ‘कसैले पनि हेर्न मिल्दैन भनेर निवेदन दिने चेतावनी पनि दिनुभयो ।

संसद विघटनको मुद्दामा रिट निवेदकहरुले मिडिया ट्रायल गरिरहेको आरोप पनि लगाउनुभयो । कुन मुद्दा कसले हेर्न मिल्छ र कसले मिल्दैन भनेर संहिता तयार भएको र त्यसमा न्यायाधीशका नातेदार रिट निवेदक छन् कि छैनन् भनेर खोज्नुपर्ने अवस्था आउने पनि बडालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *