Main News

बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदै

हिमालय टिभी
२०७८ जेठ १६ गते १३:१९
बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदै

१६ जेठ २०७८ मकवानपुर । बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदैछ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले आज दिउँसो ३ बजेको लागि बजेट अधिवेशन आह्वान गर्नुभएको हो । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानको पत्र र मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर सुनाइने छ ।

त्यस्तै प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधनप्रति शोक प्रस्ताव पारित गर्ने, महालेखा नियन्त्रक, लोकसेवा आयोग, महान्यायधिवक्ताको कार्यालय र विषयगत समितिका वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

पहिलो दिन अन्य कार्यसूचि बाँकी रहेकोले भोलि पनि बैठक आह्वान गरेर प्रि(बजेटको विषयमा छलफल गरिने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।

यसअघि अविश्वासको प्रस्ताव र विपक्षी दलहरूको मोर्चाबन्दीका कारण प्रदेशसभाको सातौं अधिवेशन लगातार अवरुद्ध भएको थियो । चार पटकसम्म विपक्षी दलले सदनमा अवरोध गरेपछि सरकारले अधिवेशन अन्त्य गरेको थियो ।

असार १ गते आगामी आर्थिक वर्षको लागि बजेट ल्याउनुपर्ने र त्यसको १५ दिनअघि प्रि(बजेट सदनमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले आज सदन बोलाइएको हो ।

प्रदेशमा विपक्षी दलहरूको मोर्चाबन्दीको कारण मुख्यमन्त्री डोरमणि पौडेललाई आगामी आर्थिक वर्षको बजेट पास गर्न सकस पर्ने देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *