Main News

खोप उपलव्ध गराइदिन आग्रहसहित अमेरिकी राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीको पत्र

हिमालय टिभी
२०७८ जेठ १५ गते १३:१५
खोप उपलव्ध गराइदिन आग्रहसहित अमेरिकी राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीको पत्र

१५ जेठ २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइ दिन आग्रहसहित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र पठाउनु भएको छ ।

अमेरिकास्थित नेपाली राजदूत डाक्टर युवराज खतिवडाले खोप आपूर्तिका लागि अनुरोध पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

राष्ट्रपतिको पत्र राजदूत खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाउनु भएको छ । जवाफमा मासिंगाले जतिसक्दो चाँडो कोभ्याक्स सुविधा र द्बिपक्षीय संयन्त्रमार्फत खोप उपलब्ध गराउन अमेरिकाले पहल गर्ने जानकारी दिएको दूतावासले जनाएको छ ।

नेपालले अमेरिकाबाट केही अनुदान र केही खरिद मार्फत खोप ल्याउन चाहेको छ । विशेषगरी अमेरिकाले चाँडै विभिन्न देशलाई बाँड्न लागेको ८ करोड खोपमध्ये केही खोप दिन नेपालले अमेरिकालाई आग्रह गरिरहेको छ ।

त्यसैगरी ५० लाख अमेरिकी खोप खरिदको प्रक्रिया पनि अगाडि बढेको सरकारी अधिकारीको भनाइ छ ।

यसअघि राष्ट्रपति भण्डारीसमेतको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाललाई १० लाख डोज कोरोना खोप दिने घोषणा गर्नुभएको छ । चिनियाँ खोप लिन पर्सी नेपालले त्यसतर्फ जहाज पठाउँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *