Main News

आज पनि देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने

हिमालय टिभी
२०७८ जेठ १४ गते ८:३७
आज पनि देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने

१४ जेठ २०७८ १४ जेठ २०७८ काठमाडौं । बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण आज देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिमबाहेकका प्रदेशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा भने केही स्थानमा मात्र मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । हाल नेपालमा यास चक्रवात पश्चिमउत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ ।

त्यसैले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । यो अवस्थासँगै धेरै स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको नियमित बुलेटिनमा उल्लेख भएअनुसार आज दिउँसो र राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना छ ।

यसैगरी उच्च हिमाली तथा पहाडी भू(भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ । केही स्थानमा भारी हिमपातको सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ ।

भोलि पनि प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ । आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुने छ । तर मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मात्र छ ।

यास चक्रवातको प्रभावका कारण परिवर्तन भएको मौसमले क्षति पुर्याउन सक्ने भन्दै मौसमविदहरुले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन र तटीय क्षेत्रमा विशेष सजगता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *