६ हजार ९ सय ३९ संक्रमित थपिँदा १ सय ६ जनाको मृत्यु

१३ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो पटक ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयको विवरण अनुसार ६ हजार ९ सय ३९ जना नयाँ संक्रमित पहिचान भएका छन् । यो हिजोको भन्दा केही बढी हो । हिजो २६ दिन यताकै कम संक्रमित भेटिएका थिए ।
२० हजार ४ सय १४ पीसीआर परीक्षण गर्दा ६ हजार ७ सय ३१ र ५ सय ७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा अघिल्लो दिन भन्दा बढी संक्रमित भेटिएका छन् । उपत्यकाका तीन जिल्लामा २३ सय ६७ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १७ सय ३८, ललितपुरमा ३ सय ६४ र भक्तपुरमा २ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
हिजो उपत्यकामा १५ सय भन्दा कम संक्रमित भेटिएका थिए । मोरङमा ४ सय १०, कास्कीमा ३ सय ५८, काभ्रेमा २ सय ३३, धादिङमा १ सय ८८ र सुनसरीमा १ सय ८६ जना संक्रमित थपिएका छन् । देशमा १ लाख १६ हजार ४ सय ७६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमणबाट हुने मृत्यु भने केही घटेको छ । पछिल्लो पटक १ सय ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ ।
हाल देशभरका अस्पतालमा १६ सय ४५ जनाको आइसीयू र ४ सय ५७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया