Main News

यसरी मनाइयो बुद्ध जयन्तीः लुम्बिनी सुनसान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १२ गते २०:४९
यसरी मनाइयो बुद्ध जयन्तीः लुम्बिनी सुनसान (भिडियो रिपोर्टसहित)

१२ जेठ २०७८ रुपन्देही । वैशाख शुक्ल पूर्णिमाका दिन आज बुद्ध जयन्ती विश्वभर गौतम बुद्धप्रति आस्था प्रकट गरेर मनाइएको छ । २५ सय ६५ औँ बुद्ध जयन्तीका अवसरमा संसारभरी नै विभिन्न कार्यक्रम आयोजना गरियो । नेपालमा कोरोना महामारीका कारण चैत्य, गुम्बा, बिहार लगायत स्थलमा सीमित धर्मगुरुले पूजापाठ गरेर मनाएका छन् ।  बुद्ध जन्मस्थल  लुम्बिनीमा भौतिक दूरी कायम गरी प्रार्थना गर्दै सामान्य रुपमा बुद्ध जयन्ती मनाइएको छ ।

गौतम बुद्धको जन्मस्थल  । विश्व शान्तिको मुहान । शान्तिस्थल । स्वदेशी विदेशी पर्यटकको सधैँ चहलपहल हुने स्थल । भीक्षुहरुको ध्यानकेन्द्र लुम्बिनी । योस्थान अहिले भने शान्त छ ।

न कुनै कोलाहल । न कुनै प्रदुषण ।  मायादेवी मन्दिर, पवित्र पुष्करनी कुन्ड, विश्व शान्ति द्वीप्प, केन्द्रीय नहर मात्र होइन, त्यहाँका बिहार पनि सुनसान छन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्न रुपन्देही प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जसको असरका कारण लुम्बिनी पनि बन्द छ । बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आज तामझामका साथ कार्यक्रम भएन, भिक्षुले एकसाथ परित्राण पाठ गरे ।

बुद्ध जयन्तीका दिन राष्ट्र प्रमुखदेखि विदेशी तथा स्वदेशी पर्यटक, भिक्षुको उपस्थितिमा औपचारिक कार्यक्रम आयोजना गरिन्थ्यो । लुम्बिनीमा बिहानदेखि नै चहलपलहुन्थ्यो । तर पोहोर र यस वर्ष भने सामान्य कार्यक्रम मात्र  गरियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लुम्बिनीस्थित मायादेवी मन्दिर पुगेर पूजा र मन्त्रोच्चारणमा सहभागी हुनुभयो ।

बुद्धजन्मस्थलमा कोरोनाबाट मृत्यु भएकाको चिरशान्तिको कामनाका साथै कोरोना संक्रमण घटोस् भनेर प्रार्थना पनि गरियो ।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । बुद्धको  जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएको थियो । बौद्ध धर्मावलम्बीले आजलाई त्रिसंयोग दिवसका रुपमा पनि मनाउँछन् ।

कोरोना महामारीका कारण बुद्ध जयन्तीमा मात्र नभई सम्पूर्ण लुम्बिनीकै पर्यटनमा असर परेको छ । यसबाट नेपाल छिट्टै मुक्त भएर आगामी वर्ष धुमधामका साथ बुद्ध जयन्ती मनाउन पाउने सबैको कामना छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *