सुदूरपश्चिममा वर्तमान सरकारलाई नै निरन्तरता दिने एमालेको निर्णय

१२ जेठ २०७८ धनगडी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले पार्टी केन्द्रको निर्णय अश्विकार गर्दै सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै पार्टी मन्त्रीलाई पनि फिर्ता बोलाएको थियो ।
तर नेपाल खनाल समूहको वर्चस्व रहेको प्रदेश संसदीय दलले भने त्यसलाई अश्विकार गर्दै यही सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
स्थायी कमिटीलाई चुनौती दिंदै संसदीय दलले समर्थन फिर्ता नलिने निर्णय गरेपछि माओवादी नेतृत्वको सरकारलाई राहत पुगेको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद छन् ।
आजको बैठकमा २० जना सहभागी थिए । २५ मध्ये १९ जना सांसद नेपाल खनाल समूहका हुन् । ओली समूहका रतना थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट तथा नेपाल समुहकी चुनकुमारी चौधरी आजको बैठकमा सहभागी हुनुभएन ।
प्रदेशसभामा अहिले ५२ सदस्य छन् । नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी ९जसपा०का २ जना सदस्य छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डाका आधारमा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री बन्नुभएको थियो । प्रदेश सरकारमा एमालेका तीनजना मन्त्री छन् ।
प्रतिक्रिया