नेपालको राजनीतिक घटनाक्रमबारे भारतले जनायो यस्तो प्रतिक्रिया

१२ जेठ २०७८ काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतीय विदेश मन्त्रालयले आन्तरिक मामिला भनेको छ । संसद विघटनलगायत पछिल्लो घटनाक्रमबारे भारतको प्रतिक्रिया आएको हो ।
आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विभिन्न सञ्चारमाध्यमले सोधेको प्रश्नको उत्तर दिँदै नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रुपमा हेरेको बताउनुभएको हो ।
बागचीले भन्नुभएको छ– हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानपूर्वक हेरेका छौं । यसलाई हामी नेपालको आन्तरिक मामिलाका रुपमा नै लिन्छौँ ।’
त्यस्तै नेपालले अहिलेको समस्या आफै समाधान गर्नेपर्ने पनि भारतीय विदेश मन्त्रालयको भनाइ छ । नेपालले पछिल्लो समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्ने’ भारतीय विदेश मन्त्रालयको प्रतिक्रिया छ ।
एक छिमेकी मुलुक भएका नाताले भारतले सधैं नेपालको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा समर्थन गर्ने पनि विदेश मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय नेपालको राजनीतिक मामिलामा भारतीय हस्तक्षेप रहेको भन्ने धारणा विकास भएको समयमा भारतीय विदेश मन्त्रालयले स्पष्टीकरण दिएको हो ।
केही दिनअघि मात्रै नेपालका लागि भारतीय पूर्वराजदूत रन्जित रेले ‘भारत नेपालमा निरंकुश शासनको पक्षमा छ भन्ने आम धारणा’ लाई भारतले हटाउनुपर्ने बताउनुभएको थियो ।
प्रतिक्रिया