राजनीति

ओलीमाथि माधव नेपालले लगाए यस्ता गम्भीर आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ११ गते २०:४३
ओलीमाथि माधव नेपालले लगाए यस्ता गम्भीर आरोप (भिडियो रिपोर्टसहित)

११ जेठ २०७८ काठमाडौं । नेकपा एमालेबाट निस्काशित भएका नेता माधवकुमार नेपालले आफूहरुमाथिको कारवाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन भएको बताउनुभएको छ । उहाँले ओली सरकारलाई बढारेर मुलुकमा कानूनी राज स्थापना गर्न आह्वान पनि गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि कारवाही गरेर एमालेलाई तहसनहस गर्ने अभियान पूरा गरेको पनि नेपालको दाबी छ । ओलीमाथि नेपालले लगाएका आरोप के के छन् हेरौं ।

आफू सहितका ११ जना सांसदलाई एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली निष्काशन गरेपछि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सञ्जाल मार्फत आक्रामक अभिव्यक्ति दिनुभएको छ । जहाँ प्रधानमन्त्री ओलीलाई विभिन्न गम्भीर आरोप लगाइएको छ ।

आरोपहरु
१. एमाले तहसनहस पारे

एमालेबाट निष्काशित पूर्वप्रधानमन्त्री नेपालले ओलीमाथि एमाले विभाजन गरेको र तहस नहस पारेको आरोप लगाउनुभएको छ । र, यो ओलीको अभियाननै रहेको नेपालको दावी छ । नेपालले लेख्नुभएको छ–ओलीले केही समयअघि षड्यन्त्रकारीको उक्सावटमा सिंगो ुनेकपाु लाई विभाजन गर्ने काम फत्ते गरे । एमालेलाई तहस नहस गर्ने अभियान कथित कारवाही र निस्काशनमा आएर पूरा भएको छ। ’

२. ओली गद्दार, राष्ट्रघाती, प्रतिगामी र विसर्जनवादी
पूर्व प्रधानमन्त्री नेपालले ओलीमाथि अर्को पनि गम्भीर आरोप लगाउनुभएको छ । ओली नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन विसर्जन गर्ने पात्रका रुपमा स्थापित भएको नेपालको आरोप छ । ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेको समेत नेपालले लेख्नुभएको छ ।

३. बिचौलिया, दलाल, माफिया र गुण्डाराजको पृष्ठपोषक
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सुख, समृद्धि र समाजवादका नाममा चलिरहेको छ । तर पूर्व प्रधानमन्त्री नेपालले त्यसलाई पूर्णतः अस्वीकार गर्नुभएको छ । ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेको नेपालको निष्कर्ष छ ।

त्यति मात्रै होइन, अहिले बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरु उत्साहित र सर्वहारा वर्ग र आम नेपाली जनता अपहेलित हुने अवस्था छ । नेपालले लेख्नुभएको छ– ओलीले आफूलाई विचौलियाको पृष्ठपोषक बनाउँदै गर्दा नेकपा एमालेको संगठन निस्तेज बन्न पुग्यो।निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाहरुले राज गरे ।यसविरुद्ध आवाज उठाउँदा हामीमाथि केपी ओलीबाट प्रहार भयो ।अहिले ओली गुटले गरेको कथित निस्काशन त्यसैको प्रतिरुप हो । ’

४. जनतामामाथि अपराध
प्रधानमन्त्री ओलीले जनतामाथि पनि अपराध गरेको भनेर पूर्व प्रधानमन्त्री नेपालले हमला गर्नुभएको छ र त्यसका लागि कोरोना संक्रमणको विषयलाई अघि सार्नुभएको छ । ओलीले राज्यका विभिन्न निकायले कोरोनाले भयावह रुप लिन्छ भन्दा भन्दै पनि ओलीले मनोगतरुपमा यसलाई ठट्टाको विषय बनाएको नेपालको निष्कर्ष छ ।

नेपालले दावी गर्नुभएको छ–ओलीको कुतर्क र कुवर्णनका कारण कोरोना प्रतिकार्यका लागि राज्य संयन्त्रले प्रभावकारी कार्य सम्पादन गर्न सकेन । हजारौंको ज्यान जाने अवस्था बन्यो । सिंगो जनताप्रति यो भन्दा ठूलो अपराध अरु हुन सक्दैन ।

ओलीलाई बढार्ने नेपालको दावी
प्रधानमन्त्री ओलीमाथि विभिन्न संगीन आरोप लगाएका नेपालले ओली सरकार हटाउने र कानूनी राज स्थापना गर्ने पनि दावी गर्नुभएको छ । र, यसको दायित्व आफूहरुमाथि आएको दावी गर्नुभएको छ । उहाँकै शब्दमा ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न जनतालाई अपील पनि गर्नुभएको छ ।

ओली सरकार हटाउने नेपालसँग तीन वटा उपाय पनि अघि सार्नभएको छ तीन हुन कानूनी , राजनीतिक तथा सडक आन्दोलन । पहिले नै पार्टी खोल्ने तयारी गरेका र सोमवार मात्रै पार्टीबाट निष्काशमा परेका नेपालले ओलीलाई हटाउने घोषणा त गर्नुभएको छ तर अब यो अभियानमै उहाँलाई एमालेबाटै कतिले साथ दिन्छन भन्ने अझै प्रष्ट चित्र आईसकेको छैन । किनकी हिजो नेपालकै पक्षमा खुलेकाहरु पनि अहिले हिचकिचाए जस्तो देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्