राजनीति

परामर्शमा सभामुखः आवश्यक परे संसद बैठक बोलाउने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ११ गते २०:३८
परामर्शमा सभामुखः आवश्यक परे संसद बैठक बोलाउने (भिडियो रिपोर्टसहित)

११ जेठ २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको भन्दै औपचारिक रुपमै परामर्श अघि बढाउनुभएको छ ।

यसैक्रममा सभामुख सापकोटाले आज पूर्वसभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा, तारानाथ रानाभाट र ओनसरी घर्तीसित संसद भवन नयाँ बानेश्वरमा छलफल गर्नुभयो । पूर्व सभामुखहरुले आवश्यक परेमा संसद् बैठक बोलाउन तयार रहन समेत सुझाव दिएका छन् ।

शुक्रबार मध्यरातमा संसद विघटन भएपछि सभामुख अग्निप्रसाद सापकोटा संसदको रक्षा कसरी गर्न सकिन्छ भनेर अनौपचारिक परामर्शमा हुनुहुन्थ्यो । तर मंगलवारदेखि भने उहाँले पूर्वसभामुखहरु सित औपचारिक रुपमै छलफल गरेर यो विषयलाई अघि बढाउनुभएको छ ।

सभामुखले संसदको रक्षाका लागि संविधानको धारा १ सय ३ मा भएको विशेषाधिकार प्रयोग गर्न सक्ने चर्चा चलिरहेका बेला सभामुखले त्यही विषयमा पूर्वसभामुखसित छलफल गर्नुभयो । र, पूर्व सभामुखहरुले आवश्यक परे संसदको बैठक बोलाउनका लागि तयार रहन समेत सुझाव दिएका छन् ।

संसद विघटनलाई असंवैधानिक भनेका पूर्व सभामुखहरुले संसद बैठक बोलाउने विषयलाई तत्कालैको नभएर अन्तिम विकल्पका रुपमा अघि सारेका छन । मुद्दा अदालतमा पुगेकाले तत्कालै संसद् बैठक बोलाउँदा नकारात्मक सन्देश जाने र अदालतलाई नै अहिले सहयोग गर्नुपर्ने तर आवश्यक पर्दा सभामुखले विशेषाधिकार प्रयोग गर्न तयार हुनुपर्ने उनीहरुको निष्कर्ष छ । पूर्व सभामुख रामचन्द्र पौडेलका अनुसार सभामुखले यस्तो गर्नुपर्ने अवस्था आउन सक्छ ।

दुई दुई पटक विघटन गरिएको र सरकार बन्ने अवस्था रहँदा रहँदै पनि संसद् विघटन भएकोले अदालतबाट संसद पूनस्थापना हुनुपर्ने, नभए सभामुखले राजनीतिक कदम चाल्नुपर्ने उनीहरुको मत छ । यसका लागि सभामुख अग्निप्रसाद सापकोटा पनि तयार हुनुहुन्छ । र, सभामुख सापकोटाले संसद बचाउने उपायको खोजीमा छलफल र परामर्श जारी राख्नुहुनेछ ।

नेपालको संविधान धारा १०३ मा संसदको विशेषाधिकारको व्यवस्था छ । यो धाराको उपधारा २ मा संविधानको अधीनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।’

त्यस्तै उपधारा ५ मा संघीय संसदको कुनै सदनले दिएको अधिकार अन्तर्गत कुनै लिखत, प्रतिवेदन, मतदान वा कारबाही प्रकाशित गरेको विषयलाई लिएर कुनै व्यक्ति उपर अदालतमा कारबाही चल्ने छैन भनिएको छ । भलै यसबारे विभिन्न मत छन । तर अहिले एक थरिले यो व्यवस्थालाई प्रयोग गरेर सभामुखले संसदको बैठक बोलाउन सक्ने र संसद बचाउन सक्ने तर्क गरिरहेका छन ।

सभामुख सापकोटाका परामर्श यसैतिर सोझिएका छन । सापकोटाले विपक्षी गठबन्धनका शीर्ष नेता र कानूनविदसँग अनौपचारिक परामर्श गरिसक्नुभएको छ । र, अब उनीहरुसँग पनि औपचारिक छलफल अघि बढाउने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्